सेयर बजारको परिसूचक नेप्से सोमबार ९२.४२ अंकले बढेको छ।
सो अंकको वृद्धिसँगै परिसूचकले २५८६ अंकको नयाँ रेकर्ड बनाएको छ। यसअघि गत सोमबार २५५६ अंकको रेकर्ड बनाएको थियो।
यसअघि सेयर धितोको कर्जामा कडाइ गर्ने भनेर बजारमा हल्ला फैलाइएपछि आइतबार बजार ३३ अंकले घटेको थियो।
तर साँझ ७ बजेतिर आएको मौद्रिक समीक्षाले सेयर धितो कर्जामा तत्काललाई पुरानै व्यवस्था कायम गर्ने उल्लेख गरेसँगै आज बजार खुलेदेखि नै बढेको हो।
धितो राखिने सेयरमा पछिल्लो १२० दिनको औसत बजार मूल्यको ७० प्रतिशतसम्म बैंकहरुले कर्जा प्रवाह गर्न पाउने व्यवस्था यथावत राखिएको हो।
यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। १० अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार रकममा भने यसअघि नै साढे १० अर्बको रेकर्ड बनेको छ।
यस दिन सबै समूह उकालो लागेका छन्। बैंकिङ ५७, ब्यापार ७१, विकास बैंक ४९, होटल २४, जलविद्युत ६४, फाइनान्स ३४, निर्जीवन बीमा ४४७, उत्पादन १५९, अन्य ६२, माइक्रोफाइनान्स ३७० र जीवन बीमा समूह ६९७ अंकले बढेका छन्।
यस दिन धेरै कमाउनेमा लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि रहे। यस दिन ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ।
उन्नति सहकार्य लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त, आरएसडिसी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, छिमेक लघुवित्त, मिथिला, आशा, फरवार्ड, सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, विजय लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य पनि १० प्रतिशतले बढेको छ। बैंकको मूल्य प्रतिकित्ता ३७ रुपैयाँले बढेर ४११ रुपैयाँ कायम भएको छ। बैंकको सेयर खरिदका लागि करिब २६ लाख कित्ता रहँदा बिक्री गर्नेतर्फ भने कोही छैनन्।
वाणिज्य बैंकहरुमा नविल र ग्लोबल आइएमई बैंकको मूल्य सबैभन्दा धेरै क्रमशः ८.१ र ७.९ प्रतिशतले बढेको छ।
पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ। योसहित अरु ५ कम्पनीको मूल्य मात्रै यस दिन घटेको छ।
निर्धन उत्थान लघुवित्तको ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। नबिल बैंकको ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने छिमेक लघुवित्त वित्तीय संस्थाको ४७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
डिप्रोक्स लघुवित्त, ग्लोबल आइएमई बैंक र एनआइसी एसिया बैंक पनि कारोबारका आधारमा क्रमश अगाडि रहे।