नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्तालका कारण बिहीबार सेयर बजार प्रभावित हुने धेरैको अनुमान थियो।
अन्तर्राष्ट्रिय बजार समेत बेलाबखतमा हुने हड्तालका कारण प्रभावित हुने गरेका छन्।
यस्ता हड्तालका कारण विगतमा धेरैजसो बजार प्रभावित हुँदै आएको छ। बिहीबार भने बजारले हड्तालको डटेर सामना गरेको छ।
परिसूचक मात्रै बढेको छैन, १५ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। त्यति मात्रै होइन, बढेको सो मूल्यमा सेयर किन्न चाहनेले पनि पाएनन्।
धेरैजसो कम्पनीको सेयरमा बिक्रीभन्दा खरिदतर्फ चाप परेको छ। राजनीतिक अन्यौलता देखिए पनि सेयर लगानीकर्ताको मनोबल भने उच्च रहेको यसले जनाउँछ।
खुलेको केही बेर बजार झरे पनि कारोबार बन्द हुने बेला भने ८.३ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २४७५ अंकमा पुगेको छ।
बजार बढ्दा यस दिन कारोबार रकम भने केही खुम्चिएको छ। अघिल्लो दिन साढे ९ अर्बको सेयर किनबेच भएकोमा यस दिन ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो।
बैंकिङ ७, होटल २०, विकास बैंक ६, फाइनान्स १० र जीवन बीमा समूह ६९ अंकले घटेका छन्।
ब्यापार १३१, जलविद्युत ३६, निर्जीवन बीमा ७८, उत्पादन ८४, अन्य १ र माइक्रोफाइनान्स समूह १४६ अंकले बढेका छन्।
यस दिन लघुवित्त कम्पनीका लगानीकर्ताले बढी कमाएका छन्।
सूर्योदय लघुवित्त, समिट माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, माहुली लघुवित्त, उन्नति सहकार्य लघुवित्त, नेसनल माइक्रोफाइनान्स, किसान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त, सिनर्जी पावर डेभलपमेन्ट, राधि विद्युत, माउन्टेन हाइड्रो, पाँचथर पावर, स्वाभिमान लघुवित्त र बरुण हाइड्रोको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै अर्थात १० प्रतिशतको हाराहारीमा बढेको छ।
कारोबारका आधारमा पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको २७ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य १३ रुपैयाँ घटेर प्रतिकित्ता १५९३ रुपैयाँ कायम भएको छ।
डिप्रोक्स लघुवित्तको २४ करोड बराबरको कारोबार भयो। ग्लोबल आइएमई र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबारमा आधारमा क्रमश अगाडि रहे।
यस दिन प्रभु लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ। त्यस्तै एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर ३.१ प्रतिशतले घटेको छ।