सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनबारे सम्झौता भएको छ।
यस प्रणाली अन्तर्गत बैंकका संस्थागत ग्राहकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन्।
बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै गर्न सकिनेछ।
उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस तथा आइपिएसमा भुक्तानी कारोबारहरु गर्न सक्ने बैंकले जानकारी दिएको छ।
कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकबाट आवेदन स्विकृति गरी प्रक्रिया पूरा गर्न सक्नेछन्। यस पश्चात ग्राहकका प्रयोगकर्ता आफैले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकमा उपस्थित नभई नै गर्न सकिन्छ। सीमा भन्दा बढीको कारोबार गर्न भने बैंकले थप जाँच पश्चात प्रक्रिया अगाडि बढाउने व्यवस्था छ।
यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनकोे सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी सुरक्षाको व्यवस्था मिलाइएको छ।
साथै ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि आवद्ध गरी कारोबार गर्न सक्नेछन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।