चार वाणिज्य बैंक, एक फाइनान्स र एक विकास बैंकले ऋणपत्र निष्कासन गर्दैछन्। नेपाल धितोपत्र बोर्डबाट ६ वटा बैंक तथा वित्तीय संस्थाले ऋणपत्र निष्कासनका लागि स्वीकृत पाएका छन्।
इन्भेष्टमेन्ट, प्राइम कमर्सियल, कृषि विकास र एनसिसी बैंकले ऋणपत्र जारी गर्दै छन्। त्यस्तै कामना सेवा विकास बैंक र मञ्जुश्री फाइनान्सले पनि ऋणपत्र जारी गर्नका लागि बोर्डबाट स्वीकृति पाएका छन्।
प्राथमिक सेयरमा मागभन्दा कयौं गुणा आवेदन पर्ने गरेकोमा ऋणपत्र भने नबिकेको अवस्था देखिँदै आएको छ।ऋणपत्रको एक इकाई बराबर १ हजार रुपैयाँ अंकित मूल्य हुन्छ।
कम्तिमा २५ इकाई अर्थात २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ। यस्ता ऋणपत्र ५ वर्षदेखि १० वर्षे अवधिसम्मका लागि जारी गरिँदै आएको छ।
धितोपत्र बजारमा ऋणपत्र खरिदबिक्री गर्न पाइन्छ। तर खरिद गर्नेहरु नहुँदा बजारमा सितिमिति ऋणपत्रको कारोबार भएको पाइँदैन। यदि खरिद गर्ने र बिक्री गर्ने दुवै पक्ष तयार भएमा दोस्रो बजारबाट खरिदबिक्री हुन सक्नेछ।
ऋणपत्रमा लगानी गरेवापत ब्याज पाइन्छ। सामान्यतः बैंकको मुद्दती निक्षेपमा भन्दा यसमा ब्याजदर केही बढी पाइन्छ। पछिल्लो समय निक्षेपमा ब्याजदर घट्दै जाँदा ऋणपत्रमा दिइने ब्याज दर पनि बैंकहरुले घटाउँदै लगेका छन्।
यसअघि ऋणपत्रमा १२ प्रतिशतसम्म ब्याजदर दिएका बैंकले अहिले साढे ८ मा झारेका छन्।
इन्भेष्टमेन्ट बैंकले जारी गर्ने ‘बोन्ड २०८४’मा साढे ८ प्रतिशत ब्याज तोकिएको छ। ७ वर्षे अवधिको सो ऋणपत्रमा शुक्रबारदेखि आवेदन दिन पाइने बिक्री प्रवन्धक आरबिबी मर्चेन्ट बैंकिङले जनाएको छ।
मञ्जुश्री फाइनान्सको ८ वर्षे अवधिका लागि ९.५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी हुँदैछ। कामना सेवा विकास बैंकको १० वर्षे अवधिको ऋणपत्रमा ९ प्रतिशत ब्याजदर पाइनेछ।
प्राइम कमर्सियल बैंकले ८ वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेलाई ८. ७५ प्रतिशत ब्याजदर दिनेछ। कृषि विकास बैंकले जारी गर्ने ७ वर्षे अवधिको कृषि ऋणपत्रमा ४ प्रतिशत ब्याजदर तोकिएको छ।
त्यस्तै एनसिसी बैंकले १० वर्षे अवधिको ऋणपत्रमा ९.५ प्रतिशत ब्याज दिनेगरी निष्कासनको स्वीकृति पाएको छ।
ऋणपत्रमा लगानी गरेवापत ६–६ महिनामा बैंकहरुले ब्याज दिने छन्। माघ १ गते र साउन १ गते ब्याज पाइन्छ।
निश्चित अवधि पुगेपछि आफ्नो साँवा र अन्तिम ब्याजको किस्ता एकमुष्ट रुपमा दिइन्छ। बैंकहरुले लगानीको स्रोतका लागि संकलन गर्ने निक्षेपको अवधि छोटो हुने भएकाले यस्तो ऋणपत्रबाट लामो अवधिको स्रोत जुटाइन्छ।
ऋणपत्रमा लगानी गर्दाको फाइदा के?
ऋणपत्रमा लगानी गरेपछि तोकिएकै अवधिसम्म स्थिर रुपमा तोकिएको ब्याज पाइन्छ। अर्थात बैंकहरुले ब्याजदर घटाउन पाउँदैनन्।
बैंकको नाफा, घाटा, चलनचल्तीको ब्याजदर जेसुकै भए पनि ऋणधनीलाई तोकिएको ब्याज दिइरहनु पर्छ। ऋणपत्रको साँवा रकम भुक्तानीका लागि बैंकहरुले प्रत्येक वर्ष नाफाबाट सेयरधनीलाई लाभांश दिनुअघि नै कोषमा रकम सार्दछन्।
यस्तो ऋणपत्र धितो राखेर सम्वद्ध बैंकबाहेक अरु बैंकबाट ऋण पनि लिन पाइन्छ। सेयरमा भन्दा ऋणपत्रको जोखिम कम हुन्छ। कम्पनीहरु नाफामा गएपछि मात्रै सेयरधनीले लाभांश पाउने हुन्।
तर सेयरधनीलाई लाभांश दिनुपहिले नै ऋणपत्रधनीलाई ब्याज छुट्याइन्छ। कम्पनी नोक्सानमै गए पनि ऋणपत्रधनीलाई ब्याज र साँवा चुक्ता गर्नुपर्छ।
सेयरमाजस्तो साधारणसभामा भाग लिने अधिकार भने ऋणपत्रधनीलाई हुँदैन। ५ लाख रुपैयाँभन्दा बढी रकम ऋणपत्रमा लगानी गर्नेले पान नम्वर खुलाउनुपर्ने हुन्छ।