चन्द्रागिरि हिल्सको आइपिओ बाँडफाँड हुँदा दुई जनालाई ११/११ कित्ता सेयर पर्यो। १० लाख ७७ हजारको हात खाली हुँदा ती दुई जनालाई सबैभन्दा धेरै कित्ता परेको हो।
बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अधिकारी छविराज पौडेलका अनुसार पहिले १० कित्ता बाँडफाँड गरिन्छ। कम्पनीले कुल १३ लाख ९६ हजार २२ कित्ता बाँडफाँड गर्नुपर्ने थियो।
यो अंकलाई १० भाग नजाने भएकाले १३ लाख ९६ हजार कित्ता पहिले बाँडफाँड गरियो। किनकि धितोपत्र बाँडफाँड निर्देशिकामा पुगेसम्म सबैलाई १०–१० कित्ता बाँड्नुपर्ने व्यवस्था छ।
यसो गर्दा १ लाख ३९ हजार ६ सय जनाले १०-१० कित्ता सेयर पाए। बाँकी २२ कित्ता सेयर रह्यो। अब फेरि १० कित्ता सेयर दुई जनालाई दिन पुग्छ। त्यसो गर्दा पनि २ कित्ता रहन्छ। तर एक व्यक्तिलाई १० कित्ताभन्दा कम सेयर दिन मिल्दैन।
तसर्थ ११-११ कित्ता दुई जनालाई दिनुपर्ने अवस्था थियो।
यदि चन्द्रागिरि हिल्समा २ कित्ता बाँकी रहनुकाे साटो १० कित्ता बाँकी रहेको भएमा अर्को १ जनाले १० कित्ता सेयर पाउँथ्यो।
२ कित्ता सेयर मिलाउन २ जनालाई ११–११ कित्ता सेयर दिएर बाँडफाँड भएको पौडेलले बताए। यदि ५ कित्ता सेयर रहेकाे भएमा ५ जनालाई ११-११ कित्ता दिइन्थ्याे।