नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न अनुमति पाएको छ।
पुँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न बजेटमा स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो।
धितोपत्र बजारमा लगानी गर्ने र बजारको अनपेक्षित उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले स्टक डिलर कम्पनी खुलेको हो।
स्टक डिलर कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ। सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ।
हाल स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब र जारी पुँजी १० अर्ब रहेको छ। कम्पनी संचालनमा आएको दुई वर्षभित्र ३० प्रतिशत पब्लिक सेयर जारी गरिनेछ।
हाल नागरिक लगानी कोषले पनि सेयर बजारमा लगानी गर्दै आएको छ। तर कोषले गरेको अहिलेको लगानीसँग स्टक डिलरको कुनै सम्वन्ध रहने छैन।
स्टक डिलरले विभिन्न कम्पनीका धितोपत्रहरुमा लगानी गर्नेछ। कम्पनीहरुको सेयर मूल्य सस्तो भएका बेलामा खरिद बढाउने र मूल्य बढेका बेला बजारमा आपूर्ति बढाएर सन्तुलित गर्ने यसको प्रमुख उद्देश्य हो।
यसले बजारको उच्च उतारचढाव नियन्त्रण हुनेछ। हाल बजार घट्दा उच्च दरले घट्ने र बढ्दा पनि उच्च दरले बढ्ने गरेको छ।
कुनै निश्चित समूहले मिलेमतो गरी बजारलाई काबुमा राख्न नसकोस् भन्ने उद्देश्यले मार्केट डिलर संचालनमा आएको हो।
नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डले विश्वास लिएको छ।