सेयरमा मात्रै होइन, म्युचुअल फण्डमा पनि लगानी गरेर प्रतिफल पाउन सकिन्छ। म्युचुअल फण्डको मूल्य प्रतिइकाई १० रुपैयाँ हुन्छ। कम्तिमा १ सय इकाई अर्थात १ हजार रुपैयाँ लगानी गर्न सकिन्छ।
थोरै रकम लगानी गरेर लाभ लिन चाहनेका लागि आजदेखि सानिमा म्युचुअल फण्डमा आवेदन खुलेको छ। 'सानिमा लार्ज क्याप फण्ड' नामको म्युचुअल फण्डमा छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिन्छ।
सानिमा बैंकको कोष प्रवद्र्धनमा म्युचुअल फण्डको इकाई निष्कासन गर्न लागिएको हो। व्यवस्थापक सानिमा क्यापिटलका अनुसार ७ वर्षे अवधि रहने गरी कुल १ अर्ब रुपैयाँको १० करोड इकाई फण्ड जारी गरिनेछ।
प्रतिइकाई १० रुपैयाँका दरले कम्तिमा १ सय कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्मको लगानी सानिमाको म्युचुअल फण्डमा गर्न सकिन्छ।
म्युचुअल फण्डमा लगानी गर्दा के छ फाइदा?
म्युचुअल फण्डमा थोरै रकम (१ हजार रुपैयाँ) पनि लगानी गर्न सकिन्छ। थोरै थोरै पुँजी जुटाएर लगानी गर्ने उद्देश्यले नै यस्ता फण्ड जारी गरिन्छ। यस्ता फण्डको इकाई सेयर बजारमा पनि किनबेच गर्न पाइन्छ।
सेयरमा लगानी गर्नेले कम्पनीको बारेमा धेरै जानकारी लिइरहनुपर्ने, वित्तीय स्थिति केलाइरहनुपर्ने, बजारको उतारचढासँग घुलमिल हुनुपर्ने हुन्छ। तर म्युचुअल फण्डमा लगानी गर्नेहरु यी कुनै विषयवस्तुमा चासो लिइरहनु पर्दैन।
थोरै रकम हुँदा सीमित सस्तो कम्पनीको सेयरमा मात्रै लगानी गर्न सकिन्छ। तर म्युचुअल फण्डमा लगानी गर्दा एकीकृत रुपमा ठूलो पुँजी जुट्छ र धेरै कम्पनीमा लगानी हुन्छ। लगानी विविधिकरण हुन गई जोखिम कम हुन्छ।
उदाहरणका रुपमा हेरौं,
तपाईसँग ५ हजार रुपैयाँ छ भने ५ सय इकाई म्युचुअल फण्ड किन्न पाउनुहुन्छ। तर ५ हजार रुपैयाँले प्रतिकित्ता ५ सयभन्दा बढी मूल्यको सेयर किन्न पुग्दैन, कम्तीमा १० कित्ता किन्नुपर्छ।
थोरै मूल्यको किन्न खोजे पनि त्याे पैसाले २ वा ३ कम्पनीको सेयर मात्रै किन्न पुग्छ। तर म्युचुअल फण्डमा गरेको त्यो ५ हजार लगानी धेरै कम्पनीमा एकीकृत रुपमा लगानी हुन्छ। सेयरमा मात्रै नभई ऋणपत्र लगायत अन्य क्षेत्रमा परिचालन हुन्छ।
म्युचुअल फण्डको व्यवस्थापकले कोष प्रवद्र्धक बैंक र धेरै सर्वसाधरणबाट रकम जुटाउँछ अनि विज्ञहरुमार्फत छानेर राम्रा राम्रा कम्पनीको सेयर, ऋणपत्र वा अन्य आम्दानीमूलक क्षेत्रमा लगानी गर्दछ।
म्युचुअल फण्ड व्यवस्थापकले पनि अधिकांश (८० प्रतिशतभन्दा धेरै) लगानी सेयर र ऋणपत्रमै गर्छन्। तर म्युचुअल फण्डको रकम लगानी गर्नका लागि बौद्धिक, प्राविधिक, कम्पनीको भित्री अवस्था केलाउन सक्ने विज्ञहरु नियुक्त गरिएका हुन्छन्।
त्यही विज्ञता प्रयोग गरेर उनीहरुले सेयर, ऋणपत्र वा अन्य क्षेत्रमा लगानी गर्छन्। यसरी लगानी गरिसकेपछि आउने नाफा वा प्रतिफल आफ्नो संचालन खर्च कटाएर म्युचुअल फण्डमा लगानी गर्नेहरुलाई प्रतिफलकै रुपमा दिन्छन्।
म्युचुअल फण्डलाई कर सुुविधा पनि हुन्छ। हरेक आइपिओ सर्वसाधारणलाई बिक्री गर्नुअघि नै म्युचुअल फण्डका लागि पहिले नै काेटा छुट्याइन्छ। सर्वसाधारणले गरेको लगानी र म्युचुअल फण्डले गरेको लगानी दुवै पारदर्शी हुन्छ।
प्रतिइकाई १० रुपैयाँको तपाईको सम्पत्ति कति पुग्यो भनेर (नेट एसेट भ्यालु) जानकारी लिन पाइन्छ। प्रायः सेयर बजार बढ्दै जाँदा तपाईंको प्रतिइकाई १० रुपैयाँको मूल्य पनि बढ्दै जान्छ।
यसरी मूल्य बढ्दै जाँदा फण्डको व्यवस्थापकले लाभांश घोषणा गर्छ। तर खुद सम्पत्ति मूल्य घटेको अवस्थामा कुनै वर्ष लाभांश नदिन पनि सक्छन्। बैंकले हाल दिने गरेको मुद्दतीको ब्याजदरभन्दा म्युचुअल फण्डले दिने लाभांश प्रायः बढी नै हुन्छ।
बीचमै यस्तो फण्डको इकाई बेच्न मन लागेमा सेयरजस्तै बिक्री गर्न पाइन्छ। बीचमा नबेचेर राखिरहेको अवस्थामा परिपक्व अवधि पुगेपछि म्युचुअल फण्डले कमाएको सम्पूर्ण नाफा (आर्जन सम्पत्तिको मूल्यसहित)को रकम पाइन्छ।
कसरी गर्ने त लगानी ?
जसरी हामीले प्राथमिक सेयर (आइपिओ)का लागि आवेदन दिन्छौं, त्यसैगरी म्युचुअल फण्डमा पनि आवेदन दिन सकिन्छ।
सिडिएससीको मेरो सेयरबाट वा आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ। धेरै आवेदन परेमा म्युचुअल फण्ड पनि आइपिओजस्तै बाँडफाँड हुन्छ।
आइपिओमाभन्दा म्युचुअल फण्डमा कम आवेदन पर्ने गरेका कारण प्राय हात खाली हुँदैन।