चन्द्रागिरि हिल्सको आइपिओ शुक्रबार बाँडफाँट हुने भएको छ।
बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार प्रिअलोटमेन्ट भई धितोपत्र बोर्डमा बाँडफाँटका लागि स्वीकृति मागिएको छ। शुक्रबार बाँडफाँट गर्ने मिति तय भएको छ।
कम्पनीको आइपिओमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका थिए। तीमध्ये १२ लाख ११ हजार ११५ आवेदन मात्रै प्रक्रिया पूरा भएका छन्।
अर्थात बाँकी ४५ हजार ६३१ आवेदन रद्द भएका छन्। बैंक खातामा रकम नभएका, दोहोरो आवेदन परेका लगायतका कारण ती आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
१२ लाख ११ हजार आवेदनमध्ये १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको हात रित्तो हुनेछ।
यद्यपि कम्पनीको आइपिओ भर्ने सबैले चन्द्रागिरि केवलकार चढ्दा १ वर्षसम्मका लागि २५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
चन्द्रागिरि हिल्सपछि इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ बाँडफाँट हुनेछ। बैंकको आइपिओमा आवेदन दिनेको अन्तिम संख्या १५ लाख ५० हजार ३२५ पुगेको छ। सो बैंकको आइपिओ भने भर्नेजति सबैले पाउने छन्।
धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँट गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँट गर्नुपर्छ।
इन्फ्रास्ट्रक्चरमा परेको आवेदनअनुसार ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन्।
५० कित्ता र सोभन्दा बढी सेयर माग गर्नेले भने गोलाप्रथाबाट ५० कित्ता वा ६० कित्तासम्म सेयर पाउने छन्। ६० कित्ताभन्दा धेरै भने बाँडफाँट गर्न नपुग्ने देखिन्छ।