कोरोना बीमा गर्नेहरुलाई दिइने दावी भुक्तानी रकम ५ अर्ब नाघ्ने भएको छ।
बीमा समितिका अनुसार कुल ५१ हजार ७१७ जनाले दिएको दावी भुक्तानी निवेदन प्रमाणित भइसकेको छ। ती आवेदकलाई भुक्तानी हुने कुल रकम ५ अर्ब नाघ्ने भएको हो।
जसमध्ये अहिलेसम्म २५ हजार ३१३ जनालाई २ अर्ब ४६ करोड २७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
अझै २६ हजार ४०४ जनालाई भुक्तानी दिनुपर्नेछ। ‘उनीहरुलाई भुक्तानी गर्दा अझै साढे २ अर्बभन्दा बढी लाग्नेछ, कुल रकम ५ अर्ब नाघ्ने निश्चित भइसकेको छ’ समितिका एक अधिकारीले भने।
उनका अनुसार कतिसम्म भुक्तानी गर्नुपर्ने भन्ने निश्चित भइसकेको छैन। अहिले पनि आवेदन पर्ने क्रम जारी नै छ।
चैत मसान्तसम्म परेको आवेदनमा भुक्तानी दिइनुपर्ने व्यवस्था छ। त्यसकारण बीमा भुक्तानीको दावी गर्दै पर्ने आवेदन संख्या अझै बढ्नेछ।
अझै थप १४ हजार आवेदन प्रक्रियामा छन्। अर्थात बीमा कम्पनीहरुबाट स्वीकृत भइसकेका तर इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले स्वीकृत गर्न बाँकी छ।
महाशाखाबाट ती आवेदन प्रमाणित भइसकेपछि बीमा वापत अब भुक्तानी गर्नुपर्ने आवेदक संख्या ४० हजार पुग्नेछ। योसहितको हिसाव गर्दा कोरोना बीमावापत करिब साढे ६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने मोटामोटी आँकडा देखिएको छ।
कोरोना बीमावापत जम्मा १ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुले सो पुरै रकम भुक्तानी गरिसकेका छन्। १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको भुक्तानी पुनर्बीमा कम्पनीले ब्यहोर्दैछ।
२ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बीमा कम्पनीहरुको महाविपत्ति पुलले ब्यहोर्नेछ।
साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्मको भुक्तानी बीमा समितिले ब्यहोर्नेछ। साढे ३ अर्ब रुपैयाँभन्दा माथिको भुक्तानी सरकारले ब्यहोर्ने कोरोना बीमा मापदण्डमा स्पष्ट उल्लेख छ।
बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले आवेदन प्रमाणित हुने सबैले कोरोना बीमाको रकम पाउने बताए। ‘यसले बीमाको दायरा बढाउन सहयोग गरेको छ, कम्पनीहरुको तत्कालीन नाफा मात्रै ठूलो कुरा होइन’ सेतोपाटीसँगको कुराकानीमा उनले भने।
केही आवेदन भने फिर्ता भएका उदाहरण पनि छन्। समितिका अनुसार हालसम्म १८३ वटा आवेदन फिर्ता भएका छन्।
दुई वा दुईभन्दा बढी कम्पनीमा बीमा गराएका र आवेदन पनि दुई भन्दा धेरै परेकाहरुलाई एउटा कम्पनीबाट मात्रै भुक्तानी हुन्छ।
त्यस्तै कतिपयले जाँच गर्दा अर्कै नाम टिपाएको तर बीमा गर्दा वास्तविक नागरिकताको नाम हुने हुँदा पनि त्यस्ता आवेदन रद्द भएका छन्।
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएकाले बीमा कम्पनीहरुमा परेका आवेदन संख्या पनि घट्दै गएका छन्।
२० वटा निर्जीवन बीमा कम्पनीको संयूक्त पुलमार्फत कोरोना बीमा कार्यान्वयनमा ल्याइएको हो। चैतपछि भने यो योजना स्वतः रद्द हुनेछ।
कोरोना बीमा दावीका लागि परेको आवेदन अत्याधिक भएपछि बीचमा कोरोना बीमाको मापदण्ड संशोधन गरिएको थियो।
जसअनुसार भदौ २९ पछि कोरोना बीमा गरेकालाई कुल बीमा रकमको २५ प्रतिशत मात्रै नगद दिने र बाँकी ७५ प्रतिशतसम्मको रकम उपचारमा लागेको खर्चको बीलका आधारमा भुक्तानी दिने व्यवस्था गरिएको थियो।
भदौ २९ अघि नै कोरोना बीमा गरेका तर संक्रमित भएर चैतसम्म आवेदन दिएमा भने त्यस्ता आवेदकलाई बीमा गरिएको पुरा रकम नगद नै भुक्तानी हुनेछ।