दिनदिनै नयाँ उचाइ बनाएको सेयर बजारको परिसूचक नेप्से मंगलबार २२६७ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। यस दिन २८.३१ अंकले बजार बढेको हो।
यस दिन कारोबार रकम केही खुम्चिएको छ। कुल २०२ कम्पनीहरुको ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ।
ब्यापार बाहेकका समूह बढेका छन्। सो समूह १५ अंकले घटेको छ। बैंकिङ १४, होटल ९, विकास बैंक १९, जलविद्युत ६०, फाइनान्स २३, निर्जीवन बीमा २७३, उत्पादन ६, अन्य ६, माइक्रोफाइनान्स ५३, जीवन बीमा ३७६ अंकले बढेका छन्।
यस दिन आइएमई जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ८२५ रुपैयाँ कायम भएको छ।
त्यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माथिल्लो तामाकोसी, प्रभु लाइफ इन्स्योरेन्स, समृद्धि फाइनान्सको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेको छ। गोर्खा फाइनान्सको मूल्य ९ प्रतिशतले बढेको छ।
प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी २९ करोड रुपैयाँको कारोबार भएको छ। मूल्य भने प्रतिकित्ता २५ रुपैयाँ घटेर १०६५ रुपैयाँ कायम भएको छ। कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेपछि यस दिन बेच्नेहरु बढेका हुन्।
प्रभु बैंकको १६ करोडको सेयर किनबेच भयो। प्रभु बैंकको मूल्य बढेर प्रतिकित्ता ४११ रुपैयाँ पुगेको छ।
नेपाल हाइड्रो डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ३.७ प्रतिशत मूल्य गुमाएका छन्। त्यस्तै प्रिमियर इन्स्योरेन्सको मूल्य २.२ प्रतिशतले घटेको छ।