सेयर बजारको परिसूचक नेप्से बिहीबार १५.९ अंकले बढेको छ। सो अंकको वृद्धिपछि बन्द बजारमा परिसूचक अहिलेसम्मकै उच्च अंक २१९४ कायम भएको छ।
यसअघि बजार बन्द हुँदा गत सोमबार सबैभन्दा धेरै २१८१ अंक कायम भएको थियो। यद्यपी कारोबार भइरहँदा भने बजार आज र यसअघि पनि २२ सय अंक नाघेर फर्किएको अवस्था छ।
यस दिन कारोबार रकम पनि बढेको छ। ५ अर्ब ८७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन अन्य समूह घटेको छ भने अरु सबै बढेका छन्। सो समूह ३.६ अंकले घटेको छ।
बैंकिङ १३, ब्यापार ११२, होटल ५, विकास बैंक १०, जलविद्युत १०, फाइनान्स १०, निर्जीवन बीमा १४४, उत्पादन ११५, माइक्रोफाइनान्स ४६ र जीवन बीमा समूह ३८ अंकले बढेका छन्।
यस दिन ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट र प्रभु लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।
कारोबारका आधारमा प्रभु बैंक अग्रस्थानमा रह्यो। सो बैंकको २८ करोड रुपैयाँ बढीको कारोबार हुँदा दोस्रोमा रहेको पुनर्बीमा कम्पनीको करिब २६ करोडको कारोबार भयो।
त्यस्तै चिलिमे हाइड्रोपावरको २३ करोड तथा एनआइसी एसिया बैंकको २० करोड बढीको कारोबार भयो।
यस दिन एभरेष्ट बैंक कन्भर्टिबल सेयरको मूल्य सबैभन्दा धेरै ३.८ प्रतिशतले घटेको छ भने राधी जलविद्युतको मूल्य २.९ प्रतिशतले घटेको छ।