नेपाल राष्ट्र बैंकले एकमुष्ट रुपमा ९८ अर्ब रुपैयाँ पुनर्कर्जा रकम प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन माग गरेको छ।
माघ १० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिनुपर्नेछ। यो पटक कोरोना प्रभावित उद्योगी व्यवसायीलाई लक्षित गर्दै राष्ट्र बैंकले पुनर्कर्जाको आकार बढाएको छ।
विगतका वर्षमा उत्पादनमुलक क्षेत्र, निकासीमुलक उद्योगलाई पुनर्कर्जा दिइँदै आएकोमा यो पटक कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीलाई समेत रकम प्रदान गरिँदैछ।
साथै राष्ट्र बैंकले इच्छुक ग्राहक ऋणीलाई आफूले सेवा लिइरहेको बैंक तथा वित्तीय संस्थाका शाखामा पुनर्कर्जाका लागि सम्पर्क गर्न समेत आग्रह गरेको छ।
रकमका आधारमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा र विशेष पुनर्कर्जा गरी तीन किसिमले वर्गीकरण गरिएको छ।
यस्तो कर्जाको ब्याज सस्तो हुने भएकाले उद्योगी व्यवसायीहरु आकर्षित रहँदै आएका छन्। साधारण पुनर्कर्जा र लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा लिने उद्योगी व्यवसायीले ५ प्रतिशत ब्याज तिर्नुपर्छ।
विशेष पुनर्कर्जाका लागि आवेदन दिनेले ३ प्रतिशत ब्याजमै यस्तो ऋण पाउँछन्।
सुरुमा बैंक तथा वित्तीय संस्थाहरुले नै कर्जा उपभोग गरिरहेका उद्योगी व्यवसायीबाट आवेदन मागेर छनौट गर्दछन्। ती व्यववसायी कर्जा पाउन योग्य भए नभएको राष्ट्र बैंकले अन्तिम निर्णय गर्दछ।
योग्य भएकालाई दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट रकम माग गर्दछन्।
हेर्नुस् राष्ट्र बैंकको सूचना