सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा गएको वर्ष घटेको छ। कम्पनीको नाफा ३८ लाख रुपैयाँले कमी आएको हो।
गएको असारमा सकिएको आर्थिक वर्षको चौथो त्राइमासको वित्तीय विवरणअनुसार कम्पनीले वर्षभर ८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको यही अवधिमा भने ८ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो।
चुक्ता पुँजी १ अर्ब ४० करोडमा स्थिर रहेको कम्पनीको जगेडा कोष १२ करोडमा झरेको छ भने जीवन बीमा कोष ९५ करोड पुगेको छ।
गएको वर्ष कम्पनीको कूल आम्दानी भने बढेको छ। अघिल्लो वर्षको तुलनामा २२ लाख रुपैयाँले बढी आम्दानी गर्दै ११ करोड ८५ लाख कमाएको छ।
खर्चमा अत्याधिक बृद्धि हुँदा नाफा पनि खुम्चिएको हो। कम्पनीले गएको वर्ष विभिन्न प्रकारले भएका नोक्सानीको व्यवस्थापनमा मात्र २४ लाख रुपैयाँ खर्च गरेको छ। जुन अघिल्लो वर्ष गरिएको थिएन।
कम्पनीले गएको वर्ष ८२ करोड ९३ लाख बीमा शुल्क संकलन गरेको छ। नाफा नबढेपनि कम्पनीले घोषित बोनसदरमा कुनै बदलाब नहुने प्रष्ट पारेको छ। कम्पनीले प्रतिहजार ३५ देखि ६५ रुपैयाँसम्म बोनस दरको घोषणा गरेको थियो।