कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि समग्र मानव जीवनलाई नै प्रभावित बनायो। यसले आर्थिक सामाजिक क्षेत्रका हरेक ठाउँमा प्रहार गरेको छ। मान्छेलाई नै सबैभन्दा ठूलो चुनौति दिएको यो भाइरसको चपेटामा जीवनकै जोखिम न्यूनीकरण गर्ने भन्दै स्थापित भएको जीवन बीमा कम्पनीहरुले कस्तो समस्या भोगे। आगामी दिन बीमा व्यवसाय कसरी बढ्ला? यी र यस्तै विषयमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत वस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश:
कोरोना भाइरस संक्रमणपछिको लकडाउनले जीवन बीमा क्षेत्रलाई कस्तो प्रभाव पार्यो?
हाम्रो पुस्ताले कल्पना नै नगरेको भाइरस आकस्मिक रुपमा आयो। यसले जीवन बीमा व्यवसायलाई नराम्रोसँग प्रभावित पार्यो।
जीवन बीमा व्यवसाय भनेकै अभिकर्तामार्फत हुन्छ। मान्छेको आवागमन नै रोकिएको समयमा अभिकर्ता पनि घरको घरमै रहे। यही कारणले व्यवसाय करिब बन्दको अवस्थामा रह्यो।
अहिले आएर खुकुलो भएपछि अभिकर्ता साथीहरुले व्यवसाय बढाउने प्रायास गर्नुभएको छ। तर पनि भनेजस्तो अघि बढ्न सकेको छैन।
यद्यपि यसले एक प्रकारको चेतना बढाइदिएको छ। बीमा चाहिन्छ, आवश्यकता परेका बेला बीमाले सहयोग गर्ने रहेछ भन्ने कुराको चेतना बढाइदियो। संकटकै समयमा बीमा चाहिन्छ भन्ने कुरा सिकायो। तर अझै अर्थतन्त्र चलायमान छैन, व्यवसायहरु ठप्प भएका छन्।
आयस्रोत सुकेको छ। बचत कम भएको छ। त्यसैले अहिले बीमा प्राथमिकतामा परेको छैन। चेतनाले मात्र व्यापार बढ्ने होइन। त्यसका लागि आय पनि बढ्नुपर्यो। कोरोनाले सकारात्मक र नकारात्मक दुबै प्रभाव पार्यो।
अर्को कुरा हामीलाई प्रविधिको प्रयोग गर्न सिकायो। भौतिक रुपमै उपस्थित नभएर पनि जीवन बीमा व्यापार गर्नुपर्ने कुरा सिकायो। प्रिमियम भुक्तानी तथा दाबी भुक्तानीका लागि डिजिटल माध्यमबाट गर्नका लागि समस्या छैन।
हामीले त्यो पनि गर्यौँ। तर अन्डरराइटिङको प्रक्रिया त्यति सहज छैन। किनभने अभिकर्ताहरु आफै पनि भौतिक रुपमा सम्पर्क गर्न चाहनुहुन्छ। व्यवसायको ड्राइभर नै अभिकर्ता भएपछि उहाँहरुलाई पन्छाउन सकिँदैन। अन्डरराइटिङ प्रक्रिया डिजिटल हुनसक्ने अवस्था अहिले छैन। अहिले मिक्स रुपमा व्यवसाय अघि बढाउनुपर्ने छ।
आगामी दिनमा जीवन बीमा व्यवसाय कसरी अघि बढ्ला?
विगत केही वर्षदेखि रफ्तारमा बढेको जीवन बीमा बजार विस्तार भइरहेको थियो। अहिले त गाउँघरसम्म पनि पहुँच पुगिसकेको छ। रेमिट्यान्सबाट आउने पैसा बीमामा पनि आएको छ। बीमाको पहुँच मात्रै नभई आयातन पनि बढेको छ। अहिले कोरोनाका कारण असर परेको छ।
यद्यपि सर्वसाधारणमा चेतना बढेको छ। बीमाले आगामी दिनमा थप रफ्तार पकड्ने मेरो विश्वास छ। अभिकर्ताको व्यावसायिक रफ्तार पनि बढेको छ। हामीले अब विस्तारै प्रविधिको प्रयोग बढाउँदै लैजान्छौँ। अन्डरराइटिङमा मात्र अलिकति कठिन हो। बीमा लेख पनि डिजिटल तरिकाले लैजान सक्छौँ।
बीमालाई अतिरिक्त बचतका रुपमा पनि हेरिन्छ, जोखिम बहन पनि गर्दछ, सर्वसाधारणले कसरी बुझ्ने?
बीमा गर्ने व्यक्तिमा भर पर्ने कुरा हो। उहाँले आफैले सक्षमता हेर्ने हो। प्रतिफल र बचतको रुपमा हेर्ने हो भने लगभग १५ वर्षजतिमा बिमांक रकम झन्डै दोब्बर हुने खालका बीमा लेख बजारमा छन्।
अहिले पनि झन्डै बैंकिङ बचतको ब्याजदरकै हाराहारीमा पनि प्रतिफल दिइरहेका छन्। त्यसकारण जीवन बीमा बचत पनि हो। तर मुख्यतः जोखिम बहन नै उद्देश्य हो।
नेशनल लाइफले कस्ता पोलिसीहरु ल्याएको छ?
यो क्षेत्रमा बिक्री हुने सबै खालका पोलिसीहरु हामीले ल्याएका छौँ। बजारको अध्ययन अनुसन्धानपछि मात्र हामीले योजना ल्याउछौँ। सावधिक, आवधिक तथा पेन्सन योजना, लघु बीमाका योजनामा प्रमाणित भएका प्रडक्ट पनि ल्याएका छौँ।
पेन्सन प्लानले कसरी काम गर्छ?
यसमा नियमित रुपमा तोकिएको रकम तिर्नुपर्छ। व्यक्ति पेशाबाट अवकाश भएपछि उसले तिरेको प्रिमियमका आधारमा मासिक रुपमा भुक्तानी हुन्छ।
यसको व्याजदर झन्डै ६ प्रतिशत छ। यो योजना नेपालमा धेरै बिक्री गर्न सकिएको छैन। हाम्रोमा मुद्रास्फिति धेरै भएकाले पनि म्याचिङ गर्न सकिएको छैन। मूल्य वृद्धि थोरै हुने ठाउँमा यो एकदमै राम्रो भएको छ।
हामीले सामाजिक सुरक्षाकै अवधारणमा बीमा योजना ल्याएका हुन्छौँ। पेन्सन योजना पनि समाजिक सुरक्षाकै अंग हो। योगदानको आधारमा पेन्सन जुटाउनका लागि काम गर्न सकिन्छ। यसमा बीमितले फाइदा नै पाउँछन्।
एउटा व्यक्ति ६० वर्षमा अवकाश भएपछि तोकिएको वा भएको रकम पाउनु हुन्छ। त्यसकारण अवकाश पछि के गर्ने भन्ने तनाबको समाधान पनि हुन्छ। मृत्युपछि परिवारले पाउने योजनाहरु पनि छन्। त्यो हिसाबले चेतना हुने मान्छेले बीमा गरिरहेका छन्।
तपाईं आफै लामो समयदेखि व्यवस्थापनमा हुनुहुन्छ, नेसनल लाइफ इन्स्योरेन्सको अवस्था कस्तो छ?
हाम्रो चुक्ता पुँजी ३ अर्ब ८ करोड छ। बीमा समितिले न्यूनतम २ अर्ब भनेको छ। जगेडा कोषमा ७६ करोड भन्दा धेरै भइसकेको छ भने जीवन बीमा कोष ३३ अर्बको छ। त्यस्तै धेरै ठाउँमा स्थिर सम्पत्ति पनि छ। देशका मुख्य शहरहरुमा जग्गा, भवनहरु छन्।
चालु बीमालेख संख्या मात्र ७ लाख ८५ हजार बढी छ। कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६५ पैसा छ। प्रति सेयर नेटवर्थ १ सय १४ रुपैयाँ ७३ पैसा छ। बीमा समितिले प्रत्येक कम्पनीलाई सल्भेन्सी मार्जिन १८५ प्रतिशत न्यूनतम हुनुपर्ने भनेको छ, तर हाम्रो भने २५० प्रतिशत छ। हामीले लगानी गरेको प्रतिफल औषत १० प्रतिशत भन्दा धेरै छ। यो एकदम राम्रो प्रतिफल हो। यो हिसाबले कम्पनीको वित्तीय स्थिति दिगो र सबल छ। अर्थव्यवस्था चलायमान हुँदै गयो भने बीमा बजारसँगै हाम्रो व्यवसाय पनि बढ्छ।
अर्थतन्त्रमा बीमको योगदान कहाँनेर कसरी जोडिन्छ?
बीमाको पहुँच बढेसँगै हाम्रो योगदान पनि बढीरहेको छ। जीवन बीमाको मात्र अर्थतन्त्रमै ३ प्रतिशत योगदान पुगेको छ। बीमा कम्पनीको योगदान आगामी दिनमा अझै बढ्दै जान्छ। अर्थतन्त्रलाई बलियो बनाउँदै जान्छ।
अर्कोतिर विभिन्न कम्पनीहरुले ३ खर्ब रुपैयाँ लगानी गरेका छन्। निक्षेपको रुपमा लगानी गरेका छन्। त्यसैले पुँजी परिचालनमा सहयोग पुगेको छ। स्टक एक्सचेन्जमा राम्रो प्रदर्शन गरिरहेका छन्।
३ खर्ब लगानीको रुपमा गएको छ भन्नुभयो। तर बीमाका कोष भनेको दीर्घकालीन कोष पनि हो। यस्तो कोषबाट पूर्वाधार क्षेत्रमा डेडिकेटेड लगानी गर्नुपर्छ भन्ने कुरा आएको छ, यसलाई कसरी लिइरहेका छन् कम्पनीहरुले?
बीमा कम्पनीहरुले नै रिजर्भको २० प्रतिशतसम्म लगानी गर्नसक्ने प्रावधान छ। त्यसमा पनि घजग्गामा ५ प्रतिशत लगानी गर्नसक्ने भनिएको छ। तर व्यवहारमा यी प्रवाधान भए पनि लगानी गरिरहेका छैनन्। यो त सर्वसाधारणको पैसा हो। भोलि बीमितलाई फिर्ता गर्ने पैसा हो। त्यसकारण कतिपय लगानीका क्षेत्रमा कम्पनीले जोखिम देख्छ भने त्यसमा सहभागी हुँदैन। पूर्ण सुरक्षित हुने परियोजना पनि आउलान्, त्यस्तो अवस्थामा कम्पनी आफैले पनि लगानी गर्लान्।
नेपाल सरकारले प्रोजेक्टसँग जोडेर लामो अवधिको बन्ड ल्याउने कुरा आएको थियो। तर त्यो लागू भएको छैन। त्यस्ता बन्ड आएमा कम्पनीहरुले पनि लगानी गर्नसक्ने छन्। दीर्घकालीन बन्ड आए पनि कम्पनीहरुले लगानी गर्न सक्छन्। कम्पनीहरुले मुख्यतः प्रतिफल र अर्को सुरक्षा खोज्ने हुन्।
सुरक्षित छैन जस्तो लाग्यो भने कम्पनीहरुले लगानी गर्ने सम्भावना कम देख्छु। यसका लागि सरकारी अग्रसरता नै चाहिन्छ।
जीवन बीमा कोषबाट मात्र एउटा ठूलो परियोजना बनाउन सकिन्छ भने पनि पैसा उपलब्ध छ। तर यसका लागि सुरक्षित र भरपर्दो लगानीको अवस्था आउनुपर्यो।
बीमा व्यवसायमा अहिलेको समयमा के कस्ता समस्या छन्?
जीवन बीमाको पहुँच विस्तारका लागि करयोग्य आयमा पर्याप्त छुट हुनुपर्छ। नेपालमा अहिले अधिकतम २५ हजार मात्र छुट दिइएको छ। यो एकदम अपुग छ। हामीले १ लाखको हराहारीमा माग गरेका छौँ।
अर्को कुरा जुन ब्याजदर निक्षेपमा दिइएको छ। त्यो स्थिर हुनुपर्छ। झन्डै ३ खर्ब राखेर त्यसको प्रतिफलकै आधारमा हामीले बीमा दिने हो। ब्याजदर तलमाथि भएमा बीमालाई ठूलो मर्का पर्छ। ब्याजदर कम हुनेवित्तिकै प्रतिफल बीमितले न्यून पाउँछन्। ब्याजदर अस्थिर हुनहुँदैन। परिपक्व भएपछि यति पैसा दिन्छौँ भनेर बीमा बेचिरहेका छौँ। तर यस्तै अस्थिर ब्याजद भएपछि त समस्या हुन्छ।
बीमा बेच्दा एजेन्टले फकाउँछन् तर भुक्तानी दिँदा वास्ता गर्दैनन् भन्ने आरोप लाग्ने गरेको छ नि?
यो भ्रम ब्यापक छ। निर्जीवन बीमाको कुरामा जीवन बीमा पनि जोडिएको छ। कुनै मान्छेले १ लाखको बीमा गरेको छ भने उसले भुक्तानी पाउँदा के के गर्नुपर्छ भनेर कानूनले स्पष्ट लेखेको छ। भुक्तानी दिनैपर्छ। त्यसमा केही रोक्न सकिँदैन। प्रिमियम तिरेको सबै प्रमाण दिएपछि तिर्नैपर्छ।
खासमा निर्जीवनमा त्यस्ता समस्या होलान्। हामीले नै देख्ने गरेका छौँ कि जब बीमा गरिएको गाडी दुर्घटना हुन्छ, बीमितले १५ लाख भन्छ, सर्भेयरले १० भन्छ बीमाले भन्छ ८ लाख। अनि यहाँ हुन्छ बिवाद।
तर जीवन बीमामा ९९ प्रतिशत विवाद हुनै सक्दैन।