कोरोना भाइरसको कारण मुलुकमा उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रहरूमा अकल्पनीय क्षति पुगेको छ। केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६-७७ मा देशको कुल गार्हस्थ उत्पादन २.२७ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरेको थियो।
जबकी पछिल्लो तीन वर्षमा देशको कुल गार्हस्थ उत्पादन औषत वृद्धिदर ७ प्रतिशत रहेको छ। यस्तो परिस्थितिकाबीच ऋणीहरूलाई ठूलो असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीहरूलाई ब्याजमा सहुलियत, किस्ता तिर्ने समयमा थप, पुर्नकर्जा लगायतका विभिन्न व्यवस्था गरी निर्देशनसमेत जारी गरिसकेको छ।
एनआइसी एशिया बैंकले राष्ट्र बैंकको निर्देशनको अक्षरशः पालना गर्दै आफ्ना ऋणीहरूलाई परेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले थप सहुलियत पूर्ण योजना ल्याएको छ। एनआइसी एशिया बैंकले ल्याएको सहुलियत योजनाबारे बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँग गरिएको कुराकानी -
१. बैंकले २०७७ वैशाख तथा जेष्ठ महिनामा लागू गरेको छुट तथा सहुलियत योजना असार महिनामा पनि निरन्तर छ कि छैन ?
नेपाल राष्ट्र बैंकद्वारा गत वैशाख १६ गते कोरोना भाइरसबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनलाई हामीले निकै नै सकारात्मक कदमको रूपमा लिएका छौं।
उक्त निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै नेपाल राष्ट्र बैंकले व्यवस्था गरे बमोजिमको २ प्रतिशत छुटको अलावा हाम्रा ऋणीहरूले जेष्ठ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता-ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट प्रदान गरिसकेका छौं। त्यति मात्रै होइन किस्ता- ब्याज तिर्न ढिलाई हुँदा लाग्ने जरिवाना ब्याजको शतप्रतिशत रकम छुट समेत ग्राहक महानुभावलाई दिइसकेका छौं।
यस्तो योजना हामीले वैशाख महिनामा समेत ग्राहकसामू ल्याएका थियौं। दुवै महिनाको योजनामा ग्राहक महानुभावहरूले उत्साहपूर्ण तरिकाले सहभागिता जनाउनुभयो। उक्त योजनामा ग्राहक महानुभावहरूले देखाउनु भएको उत्साहपूर्ण सहभागिताले हामीलाई असार महिनामा समेत अझ उत्कृष्ट योजना ल्याउन ऊर्जा प्रदान गर्यो।
फलस्वरूप हामीले यस महामारीबाट हाम्रा ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै र आफू एक उत्तरदायी कर्पोरेट नागरिक भएकोले समग्र अर्थतन्त्रको पुनर्उत्थान र सबलीकरणमा टेवा पुर्याउने मनसायले राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत छुटको अलावा आफ्नै प्रयासबाट असार महिनाका लागि ब्याजमा सहुलियतका साथै कर्जा नवीकरण शुल्कमा समेत विशेष छुट प्रदान गर्ने अत्यन्त आकर्षक योजना ल्याएका छौं।
२. बैंकले ल्याएको असार महिनाको योजनामा चाहिँ के छ?
हामीले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिनुभएका ऋणीहरूले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुभएमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने व्यवस्था गरेका छौं ।
साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा शतप्रतिशत मिनाहाको व्यवस्था गरेका छौं। यसबाहेक कर्जा नवीकरणको हकमा २०७७ असार मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ असार महिनाभित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा २५ वेसिस पोइन्ट (०.२५ प्रतिशत विन्दु) छुट प्रदान गर्ने योजना छ।
कोरोना महामारीको यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित तथा रक्षाका लागि आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्ने हेतुले यस बैंकले ल्याएको योजनाले ग्राहक महानुभावहरूको वित्तीय भारलाई केही मात्र भए पनि कम गरी उहाँहरूको घाउमा केही मलमपट्टी लगाउन सहयोग पुग्ने हामीले विश्वास लिएका छौं।
यस बैंकको उत्तरदायी मूलमन्त्र अनुरूप बैंक एक उत्तरदायी कर्पोरेट नागरिक भएको नाताले यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूको हित तथा रक्षाको लागि यस बैंक पनि उत्तिकै उत्तरदायी हुने हुनाले यस बैंकले नेपालको बैंकिङ इतिहासमा सम्भवत् पहिलो पटक ग्राहक महानुभावहरूको सर्वोपरी हितमा रहने गरी आर्थिक वर्ष २०७६-७७ को चौथो त्रैमासको तीन वटै महिनामा ग्राहक सामुन्ने आकर्षक योजना प्रस्तुत गरिएको हो।
३. लकडाउनको कारणले कतिपय ग्राहक महानुभावहरूले आफ्नो कर्जा नवीकरण गर्न समेत पाएका छैनन्। यस्तो अवस्थामा ग्राहकहरूको सुविधाको लागि केही सोच्नुभएको छ कि ?
लकडाउनका कारण समस्त गतिविधिमा नै एक प्रकारको शिथिलता आएको छ। मानिसहरू हिँडडुल गर्न सक्ने अवस्था छैन। उत्तरदायी कर्पोरेट नागरिक भएको नाताले हामीले अप्ठ्यारोमा पर्नुभएका ग्राहक महानुभावहरूको कर्जा नवीकरणको हकमा २०७७ असार मसान्त सम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको लागि २०७७ असार महिनाभित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा २५ वेसिस पोइन्ट (०.२५ प्रतिशत विन्दु) छुट प्रदान गर्ने योजना ल्याएका हौं।
हामीले २०७७ असार मसान्तसम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना वा शुल्क नलाग्ने व्यवस्था समेत गरेका छौं।
४. यो ९.९९ प्रतिशत ब्याजदर योजना कुन–कुन क्षेत्र तथा ऋणीहरूको लागि हो ?
कोभिड-१९ ले देशका उद्योगधन्दा, कलकारखाना, व्यापार, वाणिज्य, पर्यटन लगायतका अर्थतन्त्रका सम्पूर्ण क्षेत्रहरू तथा ग्राहक वर्गमा विभिन्न स्तरको असर गरेको छ। फरक यति मात्र हो कि, कुनै क्षेत्र तथा ग्राहक महानुभावहरूलाई अत्यधिक असर परेको छ र कसैलाई तुलनात्मक रूपमा न्यून असर रहेको छ।
त्यसैले कोरोना भाइरसको संक्रमणलाई कम गर्न जारी लकडाउनका कारण असर परेका सबै ऋणीहरू र विभिन्न क्षेत्र तथा प्रकृतिका कर्जाहरूलाई लक्षित गर्दै हामीले विशेष योजना ल्याएका हौं। यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै आवधिक कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेगरी ल्याइएको सहुलियत सुविधा हो।
उत्तरदायी मूल्य मान्यतामा बैंकिङ अभ्यास अघि बढाउँदै आएको यस बैंकले अर्थतन्त्रको परिस्थिति र समयानुकूल ग्राहकमैत्री सेवा तथा सुविधा प्रदान गर्दै आएको परिप्रेक्ष्यमा कोरोना भाइरसको महामारीमा समेत उत्तरदायी एवं ग्राहकमैत्री सहुलियत तथा सुविधाहरूको योजना ल्याई आफू पनि बाँचौं र हाम्रा समस्त ग्राहक महानुभावहरूलाई पनि बचाऔं भन्ने अभियानमा कटिबद्ध भई हामी अघि बढिरहेका छौं।
५. बैंकबाट यसअघि ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकको हकमा के व्यवस्था गर्नुभएको छ ?
यस असाधारण समयमा हाम्रा ग्राहक महानुभावहरूमा परेको असाधारण स्तरकै असरको समीक्षा गर्दै हामीले ग्राहक महानुभावहरूको वित्तीय भारलाई जतिसक्दो धेरैले कम गर्ने गरी सहुलियत दिने नीति लिएका छौं।
सोही नीति अनुरूप वैशाख र जेठ महिनामा दिएको सहुलियत भन्दा पनि उत्कृष्ट र अतुलनीय फाइदा ऋणीहरूलाई दिने गरी असार महिनाका लागि नयाँ योजना पस्केका छौं। जसअनुरूप यो योजना आउनुपूर्व समेत ९.९९ प्रतिशत भन्दा कम ब्याजदर उपभोग गरिरहनुभएका ग्राहक महानुभावहरूको हकमा विद्यमान ब्याजदरलाई नै निरन्तरता दिने नीति लिएका छौं।
६. के यो ब्याज सहुलियत निष्क्रिय कर्जाहरूले पनि प्राप्त गर्न सक्नेछन् ?
हामीले यो ब्याजदर सहुलियत सम्पूर्ण प्रकृतिका सक्रिय तथा निष्क्रिय कर्जाको लागि ल्याएका हौं। ग्राहकहरूले यस बैंकमा चुक्ता भुक्तान गर्नुपर्ने रकम चुक्ता भुक्तान गर्नुभएमा जतिसुकै लामो अवधिदेखि भुक्तानी गर्न बाँकी रहेको कर्जाको हकमा पनि ब्याजदर ९.९९ प्रतिशत हुनेगरी सहुलियत दिने व्यवस्था गरेका छौं।
साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्ज ब्याज वा जरिवाना रकममा शतप्रतिशत मिनाहाको समेत व्यवस्था गरेका छौं ।
७. एनआइसी एशिया बैंकले जेष्ठ महिनामा नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% को सहुलियत पश्चात् बुझाउनुपर्ने ब्याज रकममा १०% छुट ल्याएको थियो । त्यसमा ग्राहकहरूको सहभागिता कस्तो रह्यो ?
एनआइसी एशिया बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरूमा लागू हुने गरी ल्याएको जेष्ठ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता ब्याज रकम २०७७ जेष्ठ मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०% र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजनामा ग्राहक महानुभावहरूको सहभागिता निकै उत्साहपूर्ण रह्यो ।
ग्राहक महानुभावहरूले हामीमाथि गरेको यो प्रगाढ विश्वासले गर्दा हामीलाई यो विषम परिस्थितिमा थप उर्जा समेत प्राप्त भएको छ । समग्र रुपमा भन्दा नेपालको बैंकिङ्ग इतिहासमा यस्तो खालको ब्याजदर छुटको योजना विरलै प्राप्त हुने गर्दछ । त्यसैले यो योजनाले ग्राहक महानुभावहरूलाई केही मात्रामा भए पनि वहाँहरूको वित्तीय दायित्व कम गर्ने तर्फ सघाउ पुर्याउने काम गरेको छ ।
८. ग्राहकले आफ्ना विभिन्न कर्जा खाताहरू मध्ये कुनै एकको मात्र सांँवा तथा ब्याज चुक्ता भुक्तान गरेको हकमा के हुन्छ ?
ग्राहक महानुभावहरूको नाममा स्वीकृत सम्पूर्ण कर्जाहरूको आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज वहाँहरूले चुक्ता भुक्तान गर्नुभएमा मात्र ९.९९ प्रतिशतको सहुलियत ब्याज दर उपलब्ध गराउने योजना छ ।
साथै, एउटै समुह अन्तर्गत रहेको कुनै व्यक्ति तथा फर्मको नाममा स्वीकृत सम्पूर्ण कर्जाहरूको असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज असार २०७७ भित्र भुक्तानी गर्नुभएमा उक्त व्यक्ति तथा फर्मले ९.९९ प्रतिशतको सहुलियत ब्याज दर पाउने व्यवस्था गरेका छौं।
तर किस्ताबन्दी र व्यक्तिगत ओभरड्राफ्ट कर्जाका दुई खाताहरू उपभोग गर्नुभएको एकै जना ग्राहक महानुभावको हकमा भने दुई कर्जामध्ये एउटा खाता अन्तर्गतको कर्जाको मात्र सम्पूर्ण बक्यौता साँवा वा ब्याज चुक्ता भुक्तान गर्नुभएमा ९.९९ प्रतिशतको सहुलियत ब्याजदर प्राप्त हुने छैन।
९. सहुलियत ब्याज दर पाउनका लागि असार महिना समाप्त भएपछि केही दिनको लागि ग्रेस अवधि उपलब्ध छ ?
यो सहुलियत योजना अन्तर्गत हामीले आफ्ना ग्राहक महानुभावहरूले असार मसान्तसम्म चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता तथा ब्याज भुक्तानी गर्नुभएका ग्राहक महानुभावहरूका लागि सम्पूर्ण बक्यौता कर्जाको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने व्यवस्था मिलाएका छौं। त्यसैले यस योजना अन्तर्गत असार महिनापश्चात् थप ग्रेस अवधि दिने व्यवस्था नरहेको जानकारी गराउँदछु।
१०. कोभिड-१९ ले गर्दा बैंकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्न निकै सहज वातावरण बनेको देखिन्छ। एनआइसी एशिया बैंकले यस्तो समयमा डिजिटल बैंकिङद्वारा के कस्ता सेवा सुविधा अघि सारेको छ ?
बैंकको दीर्घकालीन लक्ष्य नै डिजिटल फस्ट बैंक बन्ने हो। लकडाउनका बेला हामीले प्रविधिमैत्री सेवाहरूमा विशेष जोड दिएका छौं र यसलाई निरन्तरता दिई नै रहन्छौं। यस्तो अवस्थामा हामीले ग्राहक महानुभावहरूलाई सहज तथा विश्वसनीय बैंकिङ सेवा तथा सुविधा प्रदान गर्नको लागि डिजिटल बैंकिङद्वारा ग्राहक महानुभावलाई थप परिस्कृत सेवा तथा सुविधाहरू सञ्चालनमा ल्याएका छौं। ग्राहकलाई शाखा कार्यालय नै नगई बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न सकिने गरी हामीले डिजिटल पूर्वाधार निर्माणमा समेत द्रुत गतिमा काम बढाएका छौं।
हामीले नगद कारोबार कम गरौं भन्दै विद्युतीय भुक्तानी प्रणाली-माध्यमबाट कारोबार गर्न ग्राहक महानुभावहरूलाई प्रोत्साहन समेत गरिरहेका छौं। जसमा बैंकले आकर्षक नगद फिर्ताको योजनाका साथ ग्राहक महानुभावहरूले अहिले डिजिटल बैंकिङको प्रयोग गरी कुनै सामग्री खरिद वा सेवा लिइ भुक्तानी गर्दा देशभरका २५०० भन्दा बढी अस्पताल, होटल, रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा कारोबार रकमको अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था गरेका छौं।
डिजिटल फस्ट बैंक को अवधारणा अनुरुप लकडाउनपछि हामीले सञ्चालन गरेको डिजिटल हेल्प डेस्कले ग्राहक महानुभावलाई विपतको समयमा समेत सहज रूपमा बैंकिङ सेवा तथा सुविधा दिन सफल भएको छ ।
जसमार्फत् बैंकले आपतकालीन समयमा ग्राहक महानुभावलाई घरबाटै बैंकिङ सेवा तथा सुविधा यथाशिघ्र लिन सहज भएको छ। उक्त सेवाको साथै ग्राहक महानुभावहरूले घरमै बसी ५ मिनेटमै अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ।
यसबाहेक ‘कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानी मोबाइल तथा इन्टरनेट बैंकिङजस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ।
लकडाउन पूर्व हाम्रो बैंकको एक दिनमा हुने कूल कारोबारमध्ये ग्राहक महानुभावहरूले ५५ प्रतिशत डिजिटल माध्यमबाट कारोबार गर्नुहुन्थ्यो। यो संख्यामा अहिले उल्लेख्य रूपमा वृद्धि भैरहेको अवस्था छ। यस्तो उत्साहजनक सहभागिताले हामीलाई थप हौसला प्रदान गरेको छ र आगामी २ वर्षमा हामीले डिजिटल माध्यमबाट हुने कारोबार कूल कारोबारको ७५ प्रतिशत पुर्याउने लक्ष्य र सोच बनाएर अगाडि बढेका छौं।
११. डिजिटल बैंकिङमा तपाईंहरूको भावी रणनीति कस्तो रहेको छ ?
आजका मितिमा परम्परागत बैंकिङ प्रणाली र सेवाले कसैलाई उत्साह दिँदैन। बैंकमा लाइन बस्नुपर्ने, कुनै सेवाको बारेमा बुझ्नु पर्दा सम्बन्धित जनशक्ति पहिचान गरी समय लिने होडबाजी गर्नु पर्ने, हरेक सानो सेवाको लागि बैंक नै धाउनुपर्ने जस्ता चरित्र परम्परागत बैंकिङ प्रणाली हुन्।
यसमा परिवर्तन आवश्यक छ भन्ने कुरामा दुईमत कोही पनि छैन। जसकारण अहिले नेपाली वित्तीय बजार डिजिटल अनुकूल बन्दै गएको छ। सरकारी तवरबाट समेत स्मार्ट सिटी, ई-बिडिङ, ई-गभर्नेन्सजस्ता योजनाबाट अहिले हरेक सरकारी प्रक्रिया र प्रणालीलाई डिजिटल बनाउने प्रयत्न भइरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था यस क्षेत्रमा योजना तथा पूर्वाधार निर्माणमा अग्रसर भइरहेका छन्। विभिन्न निजी तथा सार्वजनिक कम्पनीहरू यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी ल्याइरहेका छन्।
यस्तो अवस्थामा एनआइसी एशिया बैंकले पनि बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्दै समग्र बैंकिङ प्रणालीलाई नै डिजिटल रूपमा विस्तार गरी डिजिटल फर्स्ट बैंक बन्ने हाम्रो उद्देश्य रहेको छ।
डिजिटल फर्स्ट बैंक भन्नाले परम्परागत डिजिटल बैंकिङ (रकम ट्रान्फर, बिल भुक्तानी, मर्चेन्ट भुक्तानी लगायत) मात्र नभएर विभिन्न सेवा समेत सर्वप्रथम डिजिटल माध्यमबाट प्रदान गर्ने विधिलाई हामीले लिएका छौं।
जस्तो कि खाता खोल्न, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुचारु गर्न, चेकबुक अनुरोध गर्न लगायतका सेवा लिनका आवश्यक पर्ने विभिन्न फारम भर्न सकेसम्म डिजिटल प्रणालीको व्यवस्था गरिनेछ। यसबाहेक कर्जा लिने प्रक्रिया, ग्राहकलाई बैंकसँग सम्बन्धित कुनै पनि समस्या, गुनासो भएमा समेत डिजिटल माध्यमबाटै समाधान गर्ने पहिलो प्रथामिकता रहेको छ।