मेगा बैंक नेपाल लिमिटेडको साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।
बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्तिका लागि गरेका प्रस्ताव पारित भएको हो। मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ।
यो प्राप्तिपछि मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा वृद्धि भई “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए।
साधारण सभामा बोल्दै मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अभैm बढ्ने बताए।
‘बैंक अफ दि एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्तिपछि ५८ वटा जिल्लामा फैलने जानकारी दिए। यसैगरी, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने सिइओ खुञ्जेलीले बताए।
उनकाअनुसार गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुने भएको छ। यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन्।
यसै बीच, पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबार नै सम्पन्न विशेष साधारण सभाले गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ।
गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गरेको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो। ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ।
दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ।
यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए।