नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सफा नोट मात्रै प्रयोगमा ल्याउन निर्देशन दिएको छ।
सफा नोट नीति कार्यान्वयनलाई संशोधन गर्दै राष्ट्र बैंकले नोटहरुलाई तीन किसिमले वर्गीकरण गरेर व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
नयाँ नोटलाई हरियो स्लिप, चलनचल्तीमा ल्याउन मिल्ने नोटमा सेतो र प्रयोग गर्न नमिल्ने नोटमा रातो स्लिपको प्रयोग गरेर छुट्याउन उसले भनेको छ।
झुत्रिएको, जलेको, मक्किएको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटका अक्षर वा अंक नबुझिने बिग्रिने भएको र पूर्व राजाको तस्वीर अंकित नोटलाई पुनः प्रयोग गर्न नमिल्ने अर्थात रातो स्लिपले बेर्नुपर्नेछ।
ती नोटलाई नोट कोष वा राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ। ती पुराना नोटको साटो राष्ट्र बैंक वा नोट कोषले नयाँ नोट प्रदान गर्नेछ। पुराना नोट भने राष्ट्र बैंकले जलाएर नष्ट गर्ने गरेको छ।
त्यस्तै नोट भण्डारण गर्ने ढुकुटी, दराज, ओसारपसार गर्ने कक्ष, हावाको व्यवस्था हुनेगरी सफा राख्न निर्देशन दिएको छ।
त्यस्तै प्रयोग गर्न मिल्ने नोटलाई जीवाणु तथा भाइरसरहित बनाउन निर्देशन दिएको छ।
नोटमा स्टिच प्रयोग नगर्न, केरमेट नगर्न, कच्याककुचुक नपार्न पनि राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।