ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एचएफएन) सँग बुधबार २ लाख रुपैँया बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ।
बैंकले एचएफएनलाई कोरोना विरुद्धको लडाईंमा संस्थाको एन–९५ युभिजीआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो।
एचएफएनको एन–९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तर्गतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन–९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरी जीवाणु रहित बनाउँछ।
सो प्रविधि अन्तर्गत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन–९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्ने तथ्याङ्कले देखाउँछ।
स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन–९५ मास्क र पीपीईको सजिलो पूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पुर्याउने बताइएको छ।
एचएफएनले पहिलो चरणमा नेपाल सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्ने भएको छ।
उक्त सम्झौतामा ज्योति विकास बैंककोतर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा एचएफएनका कार्यकारी निर्देशक मदन राज भट्ट्ले हस्ताक्षर गरे।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटिएम मार्फत सेवा दिदैं आएको छ।