२७ वाणिज्य बैंकहरूको औसत नाफा वृद्धि ७. ९ प्रतिशतमा खुम्चिएको छ।
गत आर्थिक वर्ष २५ प्रतिशतले नाफा बढेकोमा यस आर्थिक वर्षको मध्यावधिमा जम्मा ७. ९ प्रतिशतले मात्रै बढेको हो। बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २७ बैंकले छ महिनामा कुल ३३ अर्ब २० करोड खुद नाफा कमाएका छन्।
जवकि गत वर्षको यसै अवधिमा यस्तो नाफा ३० अर्ब ७५ करोड रुपैयाँ थियो। सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ।
गत वर्षको तुलनामा नाफा घटे पनि सरकारी स्वामित्वको यो बैंकले आफ्नो पहिलो स्थान गुमाएको छैन। बैंकले छ महिनामा २ अर्ब २० करोड नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा २० करोडले कमी हो।
त्यस्तै उच्च नाफाका आधारमा दोस्रो स्थानमा रहेको नविलले २ अर्ब ४ करोड कमाएको छ। यसको नाफा पनि गत वर्षभन्दा खस्किएको छ।
जनतासँग मर्ज भएको ग्लोबल आइएमई बैंकले यस पटक नाफामा तेस्रो स्थान समेटेको छ। गत वर्ष यस अवधिमा तेस्रो स्थानमा रहेको इन्भेष्टमेन्ट अहिले टप फाइभमा पनि अटाएन। केही त्रैमासयता उसको नाफा लगातार घटिरहेको छ। एनआइसी एसिया र हिमालयन बैंक टप फाइभमा परेका छन्।
मध्यावधिमै १६ बैंक अर्बपति सूचीमा परेका छन्। गत वर्ष यस अवधिमा १५ बैंक परेकोमा यस पटक सानिमा बैंक थपिएको हो। सानिमाको नाफा १६ प्रतिशतले बढेको छ। नाफा वृद्धिदरका आधारमा एनएमबि बैंक अगाडि छ। उसको नाफा ४८ प्रतिशतले बढेको छ।
मध्यावधि समीक्षा अवधिमा ८ बैंकको नाफा खस्किएको छ। ठूला बैंकहरु राष्ट्रिय वाणिज्य, नविल, इन्भेष्टमेन्ट, सिद्धार्थ, नेपाल, एसबिआईको नाफामा गत वर्षको यस अवधिमा भन्दा कमी आएको छ। सिटिजन्स र सिभिलले पनि पहिलो त्रैमासदेखि नै नाफा बढाउन सकेका छैनन्।
किन घट्यो बैंकहरुको नाफा ?
नाफा खुम्चिनुमा मुख्यतः तीन कारण रहेका औंल्याउछन् नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा।
‘स्प्रेड दर घटाइनु, ऋण विस्तारमा कमी आउनु र संचालन खर्च बढ्नु नै प्रमुख कारण रहेको शर्माले बताए। ‘आगामी असार मसान्तसम्म स्प्रेड दर ४. ४ प्रतिशतमा झार्नुपर्नेछ, अहिलेदेखि नै बढी भएको स्प्रेड दरलाई मिलाउँदै जानुपर्नेछ’ शर्माले भने।
गत वर्षसम्म यो दरको सीमा ५ प्रतिशत थियो।
त्यस्तै हरेक स्थानीय निकायमा शाखा खोल्नुपर्ने व्यवस्थाले गर्दा संचालन खर्च बढेको शर्माले बताए। उनका अनुसार समीक्षा अवधिमा २३ प्रतिशतले संचालन खर्च बढेको छ।
‘सबैजसो स्थानीय तहमा शाखाहरु पुगेका छन्, कर्मचारीदेखि घरभाडासम्म सबै खर्च बढेको छ’ उनले भने। राष्ट्र बैंकको तथ्यांकअनुसार ७५३ तहमध्ये ८ मा मात्रै वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन।
अर्काेतर्फ नयाँ नयाँ प्रविधि बैंकहरुले अवलम्वन गर्दै गएकाले खर्च बढेको उनले बताए। यस आवदेखि बैंकहरुले आरटिजिएस, गोएएमएल प्रणाली लागू गरेका छन्। यसले समग्रमा संचालन खर्च बढेको सम्बद्ध अधिकारीहरुको भनाइ छ।
‘एकातिर खर्च बढ्यो, अर्कोतिर राष्ट्र बैंकले स्प्रेड दर घटाउँदै गएको छ भने प्रवाह ऋण रकम पनि उल्लेख्य बढ्न सकेको छैन’ उनले भने ‘यसको असर अहिले नाफामा परेकाे हो।’
अर्कोतर्फ राष्ट्र बैंकले स्प्रेड दरको गणना विधि नै परिमार्जन गरेको छ। परिमार्जित व्यवस्थाअनुसार सरकारी ऋणपत्रमा गरिएको लगानी प्रतिफललाई स्प्रेड दरमा जोडिँदैन। नयाँ विधि धेरै बैंकले लागू गरिसकेको शर्मा बताउँछन्। नयाँ विधिपछि स्प्रेड दर अझै घटाउन बैंकहरुलाई दवाव परेको छ।
त्यस्तै बैंकहरुको निक्षेप र कर्जा दुवैको वृद्धिदर समीक्षा अवधिमा घटेको छ। यस आवको छ महिनामा निक्षेप जम्मा ७ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले बढेको छ।
पुस मसान्तसम्म वाणिज्य बैंकहरुले २६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। सो अवधिसम्म २३ खर्ब ६८ अर्ब कर्जा प्रवाह भएको छ। यस आर्थिक वर्षमा राष्ट्र बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जा २१ प्रतिशतले बढाउने लक्ष्य लिएको छ।
हेर्नुस्, कुन बैंकको नाफा कति ?
बैंक | अहिलेको नाफा | पहिलेको नाफा |
राष्ट्रिय वाणिज्य | २ अर्ब २० करोड | २ अर्ब ४० करोड |
नविल | २ अर्ब ४ करोड | २ अर्ब १७ करोड |
ग्लोबल आइएमई | २ अर्ब १३ करोड | १ अर्ब २२ करोड/जनता–६३ करोड |
एनआइसी एसिया | २ अर्ब १ करोड | १ अर्ब ५१ करोड |
हिमालयन | १ अर्ब ७४ करोड | १ अर्ब ३६ करोड |
इन्भेष्टमेन्ट | १ अर्ब ६६ करोड | १ अर्ब ९७ करोड |
एनएमबि | १ अर्ब ६३ करोड | १ अर्ब १० करोड |
कृषि विकास | १ अर्ब ५८ करोड | १ अर्ब २८ करोड |
एभरेष्ट | १ अर्ब ५० करोड | १ अर्ब ४२ करोड |
नेपाल बैंक | १ अर्ब ३५ करोड | १ अर्ब ६६ करोड |
प्राइम कमर्सियल | १ अर्ब ३० करोड | १ अर्ब ६ करोड |
स्टान्डर्ड चार्टड | १ अर्ब २२ करोड | १ अर्ब १४ करोड |
सानिमा | १ अर्ब १४ करोड | ९८ करोड |
प्रभु | १ अर्ब ८ करोड | १ अर्ब ४ करोड |
सिद्धार्थ | १ अर्ब २ करोड | १ अर्ब ६ करोड |
एसबिआई | १ अर्ब | १ अर्ब २ करोड |
मेगा | ९५ करोड | ७३ करोड |
सनराइज | ९४ करोड | ७९ करोड |
लक्ष्मी | ९० करोड | ७२ करोड |
बैंक अफ काठमाण्डु | ८८ करोड | ७३ करोड |
माछापुच्छ्रे | ८२ करोड | ७८ करोड |
नेपाल बंगलादेश | ८० करोड | ७९ करोड |
कुमारी | ८० करोड | ६७ करोड |
एनसिसी | ७५ करोड | ७३ करोड |
सिटिजन्स | ६८ करोड | ७७ करोड |
सेन्चुरी | ६५ करोड | ५१ करोड |
सिभिल | ३१ करोड | ३७ करोड |
स्रोत: बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण।