चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र (डिवेन्चर) जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्यो। आगामी असार मसान्तसम्म यी बैंकले यो व्यवस्था कार्यान्वयन गर्नुपर्छ। यद्यपी मर्जरमा जाने बैंकको लागि भने अर्को एक वर्षको सुविधा छ। यसकारण पछिल्लो समय लगातार ऋणपत्र जारी भइरहेको छ।
ऋणपत्र के हो, लगानी गर्दा के फाइदा हुन्छ, कसरी लगानी गर्ने लगायतका विषयमा कुमारी बैंकका एसिस्टेन्ट जनरल म्यानेजर अपरेटिङ तथा मार्केटिङ रामचन्द्र खनालसँग सेतोपाटीका रोशन सिग्देलले गरेको कुराकानीः
राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा वाणिज्य बैंकलाई ऋणपत्र जारी गर्न अनिवार्य गरेको छ। ऋणपत्रलाई सर्वसाधारणले कसरी बुझ्ने?
ऋणपत्र भनेको सुरक्षित लगानीको एउटा औजार हो। जहाँ सर्वसाधारणले सेयरमा जस्तै पैसा लगानी गर्छन्। फरक के छ भने सेयरमा सर्वसाधारणले पाउने प्रतिफल निश्चित हुँदैन तर, ऋणपत्रमा भने प्रतिफल निश्चित हुन्छ।
जस्तो, कुमारी बैंकले पनि १० वर्षको ऋणपत्रको बिक्री खुल्ला गरेको छ। न्यूनतम २५ कित्ता किन्नुपर्छ । एक कित्ताको हजार रुपैयाँ मूल्य हुन्छ। अर्थात कम्तीमा २५ हजार रुपैयाँको ऋणपत्र किन्न सकिन्छ।
हामीले १० वर्ष सम्म १०.२५ प्रतिशत ब्याज दिने भनेका छौं। जति रकमको ऋणपत्र सर्वसाधारणले खरिद गर्नुहुन्छ, त्यही रकमको वार्षिक १०. २५ प्रतिशतका दरले प्रतिफल पाइने भयो। १० वर्षपछि ऋणपत्रमा गरिएको लगानी फिर्ता हुने भयो।
बजारमा ब्याजदर तल झर्दा ऋणपत्र झन् मूल्यवान हुन्छ। किनकि ऋणपत्रबाट आउने प्रतिफल त तोकिएको अवधिसम्म उही नै रहन्छ। त्यसले क्यापिटल गेनको पनि संभावना बढाउँछ।
ऋणपत्रलाई सुरक्षित लगानी किन पनि भनिएको हो भने लगानी गरेको बैंक घाटामा जान सक्छ, तर बैंक घाटामा गए पनि ऋणपत्र खरिद गर्नेले तोकिएकै प्रतिफल पाउने हो, ऋणपत्र खरिदकर्तालाई घाटा हुँदैन। तर त्यस्तो अवस्थामा सेयर किन्नेलाई घाटा हुन्छ।
कतिपय बैंकले निकालेको ऋणपत्रमा कोल्याट्रल (धितो) पनि हुन्छ। जस्तो हाम्रो १० अर्बको चुक्ता पुँजी छ, रिजर्भ तथा सरप्लस २ अर्बको छ। बैंकका लागि सबैभन्दा पहिलो प्रथमिकता ऋणपत्रको प्रतिफल दिने हुन्छ।
चुक्ता पुँजी र रिजर्भमा रहेको त्यो १२ अर्ब लगानी गर्ने लगानीकर्तालाई भन्दा पहिले ऋणपत्रका लगानीकर्तालाई दिने ब्याज छुट्याउनु पर्छ। भनेपछि ऋणपत्रभन्दा सुरक्षित अरु के हुन्छ? त्यस्तै लिक्विडेसनको प्रक्रियामा पनि ऋणपत्रको चुक्ता पहिलो प्रथमिकतामा हुन्छ।
अहिले ऋणपत्रमा लगानी गरेपछि त्यो लगानी लामो समयसम्म होल्ड हुन्छ। लगानीकर्तालाई बीचैमा पैसा चाहियो भने के गर्ने?
त्यस्तो बेलामा दुई वटा उपाय छन्। पहिलो, ऋणपत्र धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि निकाल्न पाइन्छ। ऋणपत्रको मूल्यमा ९० प्रतिशतसम्म ऋण पाइन्छ। यो जुनकुनै बैंकले पनि सजिलै दिन्छन्। जुन बैंकको ऋणपत्र हो, त्यो बैंकले मात्रै दिन मिल्दैन।
यसरी धितो राखेर ऋण नलिनेका लागि अर्को उपाय पनि छ। ऋणपत्रलाई दोस्रो बजारमा लगेर सेयर जस्तै बिक्री गर्न सकिन्छ। लगानीकर्ताले आफूसँग भएको सबै रकम ऋणपत्रमा लगानी गर्दा फरक पर्दैन।
सर्वसाधारण लगानीकर्ताले लगानी गर्नुपूर्व पोर्टफोलियो व्यावस्थापन गर्नुपर्छ। सकेसम्म आफ्नो लगानी धेरै क्षेत्रमा बाँड्नुपर्छ। त्यसबाट बढी फाइदा निकाल्न सक्नुपर्छ।
ऋणपत्रमा सर्वसाधारणले २० देखि ३० प्रतिशत मात्रै लगानी गर्ने हो । बाँकी पैसा इक्विटी तथा बचत खातामा पनि जम्मा गर्नुपर्छ। यसरी व्यवस्थापन गर्दा आकस्मिक रुपमा ऋणपत्र बेच्नु पर्दैन। लगानीकर्ताले व्यवस्थापन गर्न सक्छ।
ऋणपत्रमा नै किन लगानी गर्ने ?
अहिले बजारमा वचत खातामा औसत ६.५ प्रतिशत ब्याजदर दिने गरिएको छ। त्यस्तै अलि बढी पैसा भयो र यो पैसा एक वर्षको लागि चाहिँदैन भन्ने भयो भने मुद्दती खातामा राख्ने चलन छ। आफूसँग भएको पैसा अझै लामो समयसम्म पनि चाहिँदैन र सुरक्षित ठाउँमा लगानी गर्न इच्छा हुनेको लागि ऋणपत्र उत्तम क्षेत्र हो।
ऋणपत्रमा न्यूनतम रकम भने लगानी गर्नै पर्छ । कुमारी बैंकको डिवेन्चरमा कम्तीमा पनि २५ हजार रुपैयाँ न्यूनतम लगानी गर्ने हो।
मुद्दती निक्षेपमा राख्दा पनि अहिले पाइने ब्याज ९ देखि ९.५ प्रतिशतसम्म मात्रै हो। बढीमा ९.७५ प्रतिशतसम्म पाइएला। तर ऋणपत्रले दिने प्रतिफल त्यो भन्दा बढी हुन्छ।
अहिले बजारको अवस्था हेर्दा ब्यादर घट्दै जाने संकेत मिलेको छ। बजारको ब्याजदर घट्दा पनि ऋणपत्रमा गरेको लगानीको प्रतिफल घट्दैन वा ऋणपत्रमा तोकिएको ब्याजदर घट्दैन। त्यसैले पनि ऋणपत्र १०.२५ प्रतिशत प्रतिफलमा लक गरेपछि बजारमा ब्याजदर घटेपनि असर पर्दैन।
ऋणपत्र बेच्यो भने पनि त्यसले बढी नाफा दिन्छ। ऋणपत्रले १०.२५ कमाइरहेको छ, तर बजारमा ८ प्रतिशत मात्रै ब्याजदर चलिरहेको छ भने त मेरो ऋणपत्रको मूल्य बढी हुने भइहाल्यो। त्यसलाई बजारमा बेच्दा मूल्य बढी पर्छ। प्रतिकित्ता हजार रुपैयाँको ऋणपत्र ११/१२ सयमा पनि बेच्न सकिन्छ।
आज भन्दा ५/६ वर्ष पहिले बैंकहरुले ५ देखि ६.५ प्रतिशतमा घर कर्जा दिइरहेका थिए। भोलिका दिनमा पनि त्यस्तो नहोला भन्न सकिँदैन। तर ऋणपत्रको १० वर्षसम्म स्थिर प्रतिफल हुन्छ त्यसैले पनि ऋणपत्रमा लगानी गर्नू फाइदा हुन्छ।
दोस्रो बजारमा ऋणपत्र खरिद बिक्री गर्ने त्यति ठूलो 'चाम' देखिँदैन, किन ?
यसका दुई कारण छन्। पहिलो कारण भनेको नेपालमा दोस्रो बजार त्यतिधेरै विकास भइसकेको छैन। तरपनि पछिल्लो केही दिनदेखि मात्रै बजारमा ऋणपत्रको कारोबार हुन थालेको छ। हरेक विकसित बजारमा डिवेन्चर तथा बोन्डको छुट्टै बजार हुन्छ यसको धेरै कारोबार पनि हुन्छ।
अर्को, राम्रो रिटर्न आउँदैछ म किन बेच्ने भनेर पनि कारोबार नभएको हुन सक्छ।
मुख्य कुरा पैसा चाहिएपछि मात्रै ऋणपत्र बेच्ने हो। पैसा चाहियो भने पनि धितोमा राखेर ऋण पाइन्छ, किन बेच्नु पर्यो भन्ने सोच पनि हुन सक्छ। बेचेपछि त गयो। फेरि कसैले नबेच्दा सम्म किन्न पाइँदैन। छोटो समयको लागि पैसा चाहिएको हो भने धितो राखेर ऋण लिन सकिने विकल्प भएर पनि कारोबार नभएको होला।
ऋणपत्र किन्न कस्ता कम्पनी राम्रो हुन्छ? अथवा राम्रो कम्पनी कसरी छान्ने ?
सबैभन्दा पहिले बैंकको रेटिङ हुन्छ त्यो हेर्नुपर्यो। त्यसपछि कम्पनीहरुले हरेक त्रैमासिक रिपोर्टहरु निकालिरहेका हुन्छन्। त्यहाँ बैंकको नाफाको अवस्था कस्तो छ भन्ने पनि हेर्नुपर्छ।
त्यस्तै, कुन बैंकको ब्रान्च नेटवर्क कति छ, कुन बैंकमा सर्वसाधारणको बचत कति छ, ऋण कर्जा कति लिएको छ भन्नेजस्ता बैंकका अरु फाइनान्सियल इन्डिकेटरहरु पनि विचार गरेर लगानी गर्नुपर्छ।
ऋणपत्रमा लगानी गर्दा त्यो सुरक्षित हुन्छ भन्ने मान्यता छ। त्यसो भए कुन कम्पनी राम्रो छ भनेर किन हेर्ने ?
सुरक्षित हुन्छ भन्नुको मतलव यसमा जोखिम छँदै छैन भन्ने होइन। ठूलो सानो जोखिम त सबै ठाउँमा हुन्छ। अर्थतन्त्र पनि चक्रमा घुम्ने हो।
सधैं अर्थतन्त्र राम्रो नै हुन्छ भन्ने हुँदैन कुनै बेला बजार क्राइसिसमा गयो भने त्यो बेलामा बैंकको अवस्था के हुने भन्ने त हेर्नु पर्छ। लगानी गर्दा त्यो बेला पनि घाटा नहुने बैंक खोज्नुपर्छ।
कुमारी बैंककै ऋणपत्र किन किन्ने ?
कुमारी बैंकले पछिल्लो दुई वर्ष देखि राम्रो सुधार गर्दै आएको छ। राम्रो रेटिङप्राप्त बैंक पनि हो। ऋणपत्रमा १०.२५ प्रतिशत प्रतिफल दिने भनेका छौं, त्यो पनि बजारमा चलेअनुसार राम्रो दर हो। अरु कुनै बैंकले १० प्रतिशत मात्रै पनि प्रतिफल दिएका छन्।
हामीले त्यो भन्दा पनि राम्रो रिटर्न दिइरहेका छौँ। त्यस्तै, कुमारी बैंकको बचत तथा लगानी पनि राम्रो छ। त्यसैले, लगानी अहिलेको अवस्थामा ऋणपत्रमा गर्दा कुमारी बैंक निकै राम्रो छ।