बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ एक्सचेन्ज ल्याउने अध्ययनकै विषय रहेको बताए। बुधबार ६ महिनाको धितोपत्र बजारको अवस्थाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले स्टक एक्सचेन्ज लाइसेन्स बारे अझै अध्ययन गर्नुपर्ने बताए हुन्।
बजारमा एक्सचेन्जको माग रहेको तर अर्को पक्षले दिन हुँदैन भन्ने तर्क गरिरहेकाले थप अध्ययनको आवश्यकता रहेको ढुङ्गानाकाे तर्क छ।
अहिले रियलटाईममा नेप्से कारोबार हुन नसकेकाले त्यसलाई पनि समय सापेक्ष सुधार गर्नुपर्ने बताए।
त्यस्तै अध्यक्ष ढुंगानाले कमोडिटिज एक्सचेन्जको संख्या तोकेर लाइसेन्स दिनेभन्दा पनि आवश्यकता के हो? त्यसको अध्ययन गरेर मात्र लाइसेन्स दिने प्रस्ट पारे।
उनले बोर्डमा आवेदन दिएका कम्पनीहरुको मूल्याङ्कन नै नभएको अवस्थामा कतिवटा कमोडिटिज एक्सचेन्ज दिने भन्ने निर्णय नगरिएको समेत बताए।
ढुंगानाले आव २०७६/७७ को प्रथम ६ महिनाको धितोपत्रको प्राथमिक बजारको अवस्था मिश्रित देखिएको बताए।
उनका अनुसार यस अवधिमा १६ संगठित संस्थाले २० अर्ब रुपियाँ बराबरको सार्वजनिक निष्काशन अनुमति प्राप्त गरेको छ।
अघिल्लो आवको सोही अवधिको तुलनामा यो तथ्याङ्क २१.२ प्रतिशतले वृद्धि हो।
समीक्षा अवधिमा सार्वजनिक निष्काशन अनुमति प्राप्त रकम मध्ये १६.५ अर्ब रुपीयाँ ऋणपत्र निष्काशनले ओगटेको छ। यो कूल रकमको ८३ प्रतिशत हो।
नेपाल राष्ट्र बैंकले क वर्गका बैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋण पत्र निष्काशन गर्नु पर्ने व्यवस्था गरेसँगै प्राथमिक बजार मार्फत ऋण पत्र निष्काशनमा वृद्धि देखिएको हो ।
बीमा तथा लघुवित्त कम्पनीहरुले हकप्रद निष्काशन मार्फत पूँजी वृद्धि गरेसँगै हकप्रद शेयर निष्काशनमा बढोत्तरी आएको छ।
बोर्डमा ३७ संगठित संस्थाले ११ अर्ब ६० करोड रुपीयाँ बराबरको बोनस शेयर दर्ता गरेको ढुङ्गानाले जानकारी दिए। जुन अघिल्लो आवको तुलनामा ३४.९ प्रतिशतले बढी हो।
यो अवधिमा नेप्सेमा सूचीकृत संख्या बढेर २ सय १२ पुगेको छ। चालु आवको पुस मसान्तसम्म कूल ३२.५१ अर्ब बराबरको धितोपत्र कारोबार भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.८ प्रतिशतले कम हो।
६ महिनामा दैनिक ३२.५ करोडका दरले एक सय दिन कारोबार भएको बोर्डले जनाएको छ।
यस अवधिमा उक्त पूँजीकरण १६ खर्ब १० अर्ब छ भने, फ्लोट बजार पूँजीकरण ५३४ अर्ब रहेको छ। डिम्याट खाताको संख्या १६ लाख ७ हजार ६ सय पाँच पुगिसकेको उनले जानकारी दिए।