मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११. ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ।
काठमाडौँमा शुक्रबार सम्पन्न भएको मेगा बैंकको नवौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो।
आर्थिक बर्ष २०७५/०७६ सम्मको संचित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैयाँ ११.७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसालाई नगद लाभांशस्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए।
मेगा बैंकको अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन्।
ग्राहक तथा शेयरहोल्डर सेवाअन्तर्गत मेगा बैंकले अस्पताल, एयरलायन्स, डिपार्टमेन्ट स्टोर, होटल, शिक्षालय तथा अन्य क्षेत्रमा मेगा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई सहुलियतको प्रबन्ध गर्ने प्रतिबद्धताअन्तर्गत यो वर्ष ग्रान्डी अस्पताल, स्टार अस्पताल लगायतका अस्पताल र कतार एयरलायन्समा छुटको व्यवस्था गरेको छ।