भुक्तानी सेवा प्रणाली युनियन पे इन्टरनेसनललाई राष्ट्र बैंकले सञ्चालनको अनुमति दिएको छ। चीनको सांघाईमा प्रधान कार्यालय रहेको युनियनले अब नेपालमा विद्युतीय कार्ड तथा नेटवर्क र भुक्तानी स्वीचका लागि आन्तरिक संयन्त्र विकास गर्न पाउने भएको छ।
‘शर्तहरु पुरा गरेपछि युनियन पेलाई अनुमति दिएका हौँ, अब उसले आफ्नो सेवा विस्तारका लागि काम गर्न सक्नेछ’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने।
युनियन पेले आफ्नो सेवा विस्तारका लागि नेपालका विभिन्न बैंकहरुसँग सहकार्य गर्ने भएको छ। केही बैंकसँग आन्तरिक सहकार्य समेत भइसकेको छ।
युनियन पेले मुख्य रुपमा नेपालमा विद्युतीय भुक्तानी कार्ड र नेटवर्क विस्तार गर्नेछ। नेपालमा एससिटी नेटवर्कसँग सहकार्य गर्ने भएको छ।
युनियन पे इन्टरनेसनल चीनको मुख्य कम्पनी हो। चीनमा ‘चाइनिज पे इन्टरनेसनल’बाट परिचित कम्पनीको अन्य देशमा ‘युनियन पे इन्टरनेसनल’को नाममा नेटवर्क संचालन भइरहेको छ। भारतसहित विश्वका डेढ सय बढी देशमा यसको नेटवर्क विस्तार भएको छ।
यी देशमा युनियन पे कार्ड प्रयोग गरेकाले अब नेपालमा पनि वैधानिक रुपमा कारोबार गर्न सक्नेछन्। यसअघि राष्ट्र बैंकले अनुमति नलिइकन कुनै पनि डिजिटल भुक्तानी प्रणाली सञ्चालन हुन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।
सार्वजनिक सूचनापछि वीच्याट, अलिपे र युनियन पे गरी तीन वटाले डिजिटल कारोबारका लागि अनुमति मागेका थिए। अन्यलाई पनि प्रक्रिया पुरा गरी अनुमति दिइने प्रवक्ता निरौलाले बताए।