एनआइसी एसिया बैंकले दोस्रो म्युचुअल फण्ड ‘एनआइसी एसिया ब्यालेन्सड फन्ड’ निश्कासन गर्ने भएको छ।
बन्दमुखी यस योजनामा भोलि बुधबारदेखि आवेदन दिन सकिनेछ। साउन १२ गतेसम्म र पर्याप्त आवेदन नपरेमा भदौ ५ गतेसम्म बिक्री खुला रहनेछ।
कुल १२ करोड ५० लाख इकाई निश्कासन हुन लागेकोमा १५ प्रतिशत प्रवद्र्धक (एनआइसी एसिया बैंक) र योजना व्यवस्थापक (एनआइसी एसिया क्यापिटल) लाई सुरक्षित गरिएको छ।
बाँकी १० करोड ६२ लाख ५० हजार कित्ताका लागि नेपाली नागरिक, गैह्र आवासीय नेपाली, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कोषहरु तथा अन्य संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।
सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा खाता रहेका सबैले बैंकमार्फत वा मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। एनआइसी एसिया क्यापिटलको वेबसाइटमार्फत यस म्युचुअल फण्डको विवरण लगानीकर्ताले हेर्न सक्ने क्यापिटलले जनाएको छ।
इकाइधनीलाई उच्च प्रतिफल दिने प्रक्षेपण रहेको जनाउँदै क्यापिटलले यस्ता सामुहिक लगानी कोषले धितोपत्र बजारको विकासमा टेवा पुग्ने जनाएको छ।
यस योजनाको इकाई बाँडफाँडपश्चात स्टक एक्स्चेन्जमा सूचीकृत भई कारोबार समेत हुनेछ।