नयाँ आर्थिक वर्ष लागेसँगै शेयर बजारमा केही उत्साह देखिएको छ । कारोबार रकम नबढे पनि नेप्से सूचक भने सकारात्मक देखिएको छ।
अघिल्लो हप्ताको आइतबार देखिनै बढ्ने संकेत देखिएको शेयर बजार साताको अन्तिम दिन घटेर बन्द भयो। समग्र हप्ता भरिको शेयर बजार भने सकारात्म देखियो ।
तर, यो हप्ता शेयर बजारमा अन्यौलता सृजना भएको छ । भारित औषत लागत गणनाकाे समस्याले यो हप्ताको शेयर बजारमा अन्यौलता ल्याएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।
अहिले लाभकरमा भारित औषत दरको निर्धारण कुन विधिले गर्ने भन्ने प्रस्ट नहुँदा अन्यौल भएको हो। २०५८ साल साउन १ सम्मको खरिद गरेको धितोपत्र बजार मूल्य त्यो मितिको बजार मूल्यलाई नै आधार मान्ने लगानीकर्ताहरुको निर्णय थियो।
२०७२ साल पछिको औषत मूल्य भने सिडिएससीसँग भएकाले त्यसबाट लागत गणना गरि लाभकर निर्धारण गर्ने लगानीकर्ताले बताएका थिए ।
तर, सिडिएससीको प्रणालीमा नभएका र २०५८ साउन १ पछिका धितोपत्रको लागत कति मान्ने भन्ने विषयमा आन्तरिक राजश्व विभागले निर्णय नगर्दा अहिले शेयर बजारमा अन्यौलता सृजना भएको हो ।
शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल यो हप्ता शेयर बजारमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिले पनि प्रभाव पार्ने बताउँछन्। ‘लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन्,’ उनले भने, ‘यसैले यो हप्ताको शेयरबजार कस्तो हुन्छ भन्ने प्रभाव पार्छ।’
यस्तै, इन्भेस्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि यो हप्ताको शेयर बजारमा सबैभन्दा ठूलो असर भारित औषत मूल्यले नै पार्ने बताउँछन् । ‘यसले गर्दा लगानीकर्तालाई पूरै अन्यौलमा पारेको छ,’ उनले भने।
पहिले नै सहमति अनुसार काम नगरेर अर्थ मन्त्रालय दबावमा परी पन्छिन खोजेको आरोप लगाउँदै रौनियारले शेयर बजारमा यसले नकारात्मक असर पर्ने बताए।
तर, आर्थिक वर्ष लागेसँगै लगानीकर्तामा देखिएको उत्साह कायम भयो भने शेयर बजारमा सकारात्मक प्रभाव पर्ने पनि अर्यालले बताए । तर समग्रमा हप्ताको शेयर बजार भने अन्यौलमा रहने उनको दाबी छ।
पछिल्लो समय बढीरहेको बैंकहरुको शेयरले नै यो हप्ताको शेयर बजारमा सबैभन्दा ठूलो प्रभाव पार्ने अर्यालको विश्लेषण छ। ‘पहिलो ९ महिनाको बैंकको अवस्था विश्लेषण गर्दा लगानीकर्ताहरुलाई बैंकमै लागनी बढाउँदा फाइदा हुने देखिन्छ,’ अर्यालले भने।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासिकको विवरण सबै बैंकले सार्वजनिक गरिसकेका छन् । आर्थिक वर्ष भरिको विवरण पनि सार्वजनिक हुन थालेको छ। प्ररम्भिक रुपमा प्राय विणिज्य बैंकले यो वर्ष राम्रो कारोबर गरेको देखिन्छ ।
यसको प्रभावले गर्दा यो हप्ता पनि लगानीकर्ताहरु बैंकको शेयर किन्नै झुम्मिने देखिन्छ । यस्तै इन्स्योरेन्स कम्पनीमा पनि लगानीकर्ताको आकर्षण देखिने आर्यलले दाबी गरे ।