आगामी आर्थिक वर्षबाट हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने भएका छन्।
नेपाल धितोपत्र बोर्डले सोमबार काठमाडौंमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गरिने उल्लेख छ।
हाल हकप्रदमा खुलाइएको सेयरमा सबैले सबै कित्ताका लागि आवेदन नदिँदा लिलामीमार्फत सेयर बिक्री हुने गरेको छ। तर अब हकभन्दा बढीका लागि लगानीकर्ताले नै सेयर दिएपछि हकका आधारमा सेयर वितरण गरेपछि पुनः थप आवेदनअनुसार समानुपातिक रुपमा वितरण हुनेछ।
लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर सो प्रावधान नीति तथा कार्यक्रममा राखिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए। त्यसैगरी बोर्डले गत आर्थिक वर्षबाट सुरु भएको ‘एक नेपालीः एक डिम्याट खाता’ सम्बन्धि नीतिलाई पनि प्रभावकारी बनाउने कार्यक्रम तय गरेको छ।
बोर्डका अध्यक्ष कार्कीले ५० करोड वा सो भन्दा माथिका र एक अर्व वा सो भन्दा बढिको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने योजना अघि सारेको बताए।
बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तर्गत धितोपत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको व्यवस्था गर्ने पनि जनाएको छ।
पूँजी बजारको गतिशील विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलगायतका विशेष ऐनद्धारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको सुरुवात गराउन आवश्यक सहजीकरण गर्ने पनि बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।