नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत सुझाव दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने ‘तपाईहरु आफै मर्जमा जानुहोस्, मौद्रिक नीतिपछि रोइकराई गर्न पाउनुहुन्न।’
गभर्नर नेपालले असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना भइसक्ने घोषणा गरे। ७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगी सकेको र बाँकीमा असारभित्रै पुर्याइने उनले बताए।
त्यस्तै उनले लघुवित्त कम्पनीहरुको सेयर मूल्य उच्च रहेकोमा पनि आश्चर्य जनाए। वाणिज्य बैंकको सेयर मूल्य २ सय र लघुवित्तको उच्च हुनुपर्ने कुनै कारण आफूले नदेखेको उनको भनाइ छ।
कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताए।
समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई पनि सो मर्जर अभियानले ठूलो राहत दिने उनको भनाइ छ। अध्यक्ष जोशीले लघुवित्त संस्थाहरुलाई कृषि कर्जा प्रवाह गर्न नदिने निर्णय नेपाल राष्ट्र बंंैकले गरेकोमा भने दुःख व्यक्त गरे।