वाणिज्य बैंकहरुको कर्जा विस्तार तीन वर्षमा करिब दोब्बर भएको छ। आर्थिक वर्ष ०७२/७३ को बैशाखसम्म १२ खर्ब ५५ अर्ब कर्जा प्रवाह भएकोमा ०७५/७६ को बैशाखसम्म २४ खर्ब ४७ अर्ब पुगेको छ।
तीन वर्षको अवधिमा कर्जा ९५ प्रतिशत (११ खर्ब ९२ अर्ब रुपैयाँ)ले बढ्दा निक्षेपमा भने ६७ प्रतिशतको वृद्धि देखिएको छ। आर्थिक वर्ष ०७२/७३ को बैशाखसम्म १६ खर्ब १४ अर्ब निक्षेप संकलन भएकोमा ०७५/७६ को बैशाखसम्म २७ खर्ब ८ अर्ब पुगेको छ।
रकमका आधारमा पनि निक्षेपभन्दा कर्जा बढेको छ। चार वर्षको अवधिमा १० खर्ब ९४ अर्बले निक्षेप बढेको छ।
पछिल्लो समय बैंकहरुको निक्षेपभन्दा कर्जा प्रवाह बढेसँगै प्राथमिक पुँजी तथा निक्षेपमा कर्जा अनुपात (सिसिडी रेसियो)का आधारमा बैंकहरु थप लगानी गर्नका लागि असहज अवस्थामा छन्।
बैंकहरुको औसत सिसिडी रेसियो गत चैत मसान्तसम्म ७७. ७७ प्रतिशत छ। यसको अधिकतम सीमा ८० प्रतिशत हो।
तीन वर्षमा बैंकहरुको कर्जा प्रवाह स्थिति
तथ्याङ्क भन्छ: असारमा बढ्छ निक्षेप
तथ्याङ्कअनुसार असारमा निक्षेप उच्च दरले बढ्ने गरेको छ। आर्थिक वर्ष ०७२/७३ को जेठदेखि असारसम्म एक महिनाको अवधिमै १ खर्ब ३८ अर्बले निक्षेप बढेको छ।
त्यस्तै ०७३/७४ को सोही अवधिमा १ खर्ब २३ अर्बले, ०७४/७५ मा १ खर्ब १ अर्बले निक्षेप बढेको छ। यी तीनै आर्थिक वर्षमा असारमा बढेको निक्षेप अन्य महिनाहरुको तुलनामा उच्च हो। पुँजीगत खर्च अन्तिममा मात्रै निकासी हुने परिपाटीले असारमा मात्रै निक्षेप बढ्ने गरेको बैंकरहरुले बताउँदै आएका छन्।
स्रोतः नेपाल बैंकर्स एसोसिएसन