सेयर किनेको पैसा तिर्न ब्रोकर कार्यालय जानु नपर्ने भएको छ। अनलाइनबाट सेयर खरिद गरेका लगानीकर्ताले घरमै बसेर रकम भुक्तानी गर्न सक्नेछन्। लगानीकर्ताको बैंक खाताबाट सिधै ब्रोकरको खातामा रकम जानेछ।
नेपाल क्लियरिङ हाउसले अनलाइन सेयर कारोबारलाई बैंकसँग इन्टिग्रेसन गरी यस्तो व्यवस्था मिलाएको हो। क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सेयर खरिद गर्नेहरुले सिधै आफ्नो खाताबाट रकम ब्रोकरको खातामा ट्रान्सफर गर्न सक्ने जानकारी दिए। अहिले सिस्टम अपग्रेडको काम भइरहेको उनले बताए। अपग्रेडको काम सकिनेवित्तिकै संभवत सोमबारदेखि लगानीकर्ताले यो सुविधा लिन सक्नेछन्।
यसरी रकम ट्रान्सफर भएपछि लगानीकर्ताको खाताबाट केही शुल्क पनि कटौती हुनेछ। २ रुपैयाँदेखि १५ रुपैयाँसम्म शुल्क लाग्नेछ। एक चरणमा लगानीकर्ताले १ लाख रुपैयाँसम्म मात्रै भुक्तानी गर्न सक्नेछन्। ५० हजारदेखि १ लाख रुपैयाँसम्मको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्नेछ।
‘अहिले ४८ बैंक तथा वित्तीय संस्था आवद्ध भए पनि केही दिनमै ७ वटा थपिन्छन्’ प्रधानले भने। यसका लागि https://www.connectips.com मा गई लगानीकर्ताले ‘पेमेन्ट लगिन’ गर्न सक्नेछन्।
लगिन भइसकेपछि तोकिएअनुसारको आवेदन भर्नुपर्नेछ। आवेदन भर्ने क्रममा जुन बैंकबाट कारोबार गर्ने हो सोही बैंक छनौट गर्न सकिनेछ। आफ्नो खाता भएको एकभन्दा बढी वा तीन वटासम्म बैंक छनौट गरेर रकम भएको खाताबाट भुक्तानी गर्न सकिने प्रधानले बताए।
पहिलो चरणमा ब्रोकरलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको क्लियरिङले दोस्रो चरणमा लगानीकर्तालाई सेयर बेचेको रकम बैंक खातामै जम्मा गरिदिने व्यवस्था मिलाउने भएको छ। ‘अबको केही दिनमै लगानीकर्ताको बैंक खातामै सेयर बेचेको रकम ब्रोकरको खाताबाट आउनेगरी दोस्रो चरणको काम सकाउनेछौँ’ प्रधानले भने। दोस्रो चरणको काम सकिएपछि सेयर बेचेको रकम सिधै ब्रोकरको खाताबाट लगानीकर्ताको खातामा जानेछ।
कुन कुन बैंकबाट गर्न सकिन्छ कारोबार ?
क्लियरिङ हाउसमा आवद्ध भएका २२ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक र ८ वटा फाइनान्स कम्पनीमा खाता हुनेहरुले यो सुविधा प्रयोग गर्न सक्छन्।
बैंक अफ काठमाण्डु, सेन्चुरी, सिटिजन्स, सिभिल, एभरेष्ट, ग्लोबल आईएमई, जनता, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगा, नविल, एनसिसी, एनआइसी एसिया, नेपाल बंगलादेश, नेपाल, एनएमबि, प्रभु, प्राइम, सानिमा, सिद्धार्थ, सनराइज बैंक यसमा आवद्ध छन्।
त्यस्तै विकास बैंकहरुमा भार्गव, देव, एक्सल, गण्डकी, गरिमा, कैलाश, कन्काई, कन्चन डेभलपमेन्ट, ज्योति विकास, महालक्ष्मी, मुक्तिनाथ, कामना सेवा, लुम्बिनी, ओम, पूर्णिमा, सप्तकोसी, सांग्रिला, साइन रेसुङ्गा छन्।
फाइनान्स कम्पनीहरुमा सिटी एक्स्प्रेस, गुहेश्वरी, आइसिएफसी, जेबिल्स, मन्जुश्री, प्रोग्रेसिभ, रिलायन्स, युनाइटेड फाइनान्स रहेका छन्।