एकाएक जलविद्युत कम्पनीहरुको सेयरमा चमक बढेको छ।
लगानीकर्ताहरु जलविद्युतको सेयरमा आकर्षित हुँदा बुधबार मूल्य उच्च बढ्ने पाँच कम्पनीमा जलविद्युत कम्पनीहरु रहे। जलविद्युत समूहमा नै यस दिन सबैभन्दा उच्च वृद्धि देखियो। यस दिन जलविद्युत समूह ६८ अंकले बढेको छ।
यस दिन अरुण भ्याली हाइड्रोपावर र माथिल्लो तामाकोसीका लगानीकर्ताले करिब १० प्रतिशत मूल्य कमाए। यीसँगै सेयर मूल्य उच्च बढ्ने ‘टप फाइभ’ कम्पनीहरुमा अरुण काबेली, हिमालय पावर पार्टनर र रैराङ हाइड्रोपार रहे।
अरुण भ्यालीसँगै माथिल्लो तामाकोसीको सेयर मूल्य उच्च दरमा बढेपछि सर्किट ब्रेक लाग्यो। २ लाख ६९ हजार कित्ता सेयर खरिदका लागि आदेश रहँदा बिक्रीका लागि कत्ति पनि सेयर आउन सकेन।
अरुणको सेयर मूल्य प्रतिकित्ता १२१ रुपैयाँ तथा तामाकोसीको मूल्य ३०५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन पनि तामाकोसीको मूल्य करिब १० प्रतिशतले बढेको थियो।
नेप्से ७ अंकले बढ्यो
सेयर बजारको परिसूचक नेप्से बुधबार ७ अंकले बढेको छ। ७. ४९ अंकले बढेर नेप्से १३१९ अंकमा कायम भएको छ। १७१ कम्पनीको ९६ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो।
यस दिन बैंकिङ २, होटल ५२, विकास बैंक ६, जलविद्युत ६८, फाइनान्स ४, निर्जीवन बीमा समूह १०, अन्य ८, माइक्रोफाइनान्स ७ तथा जीवन बीमा समूह ४३ अंकले बढे। उत्पादन समूह ८४ अंकले घट्दा म्युचुअल फण्ड समूह ०. २ अंकले घट्यो।
कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ९६ लाखको कारोबार भयो। प्राइम कमर्सियल बैंक र शिवम् सिमेन्टको ६–६ करोडमाथिको कारोबार भयो।
अधिकांश जलविद्युत कम्पनीको मूल्य बढ्दा घलेम्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले घट्यो। हिमालयन डिष्टिलरीको मूल्य ६. ७ र शिवम्को मूल्य ५. ९ प्रतिशतले घट्यो।