तपाई ऋण लिनका लागि बैंक जाँदै हुनुहुन्छ भने पक्कै पनि सस्तो व्याज खोज्नुहुन्छ।
जुन बैंकको व्याज सस्तो छ, त्यही बैंक तपाईको रोजाईमा पर्दछ। व्याज मात्रै नभई बिना झन्झट प्रक्रियागत काम हुने, चाँडो ऋण रकम प्रदान गर्ने, तुरुन्त व्याजदर नबढाउने बैंक ऋणीको रोजाईमा पर्दछन्।
बैंकहरुले ऋणीबाट अहिले १६ प्रतिशतसम्म व्याज लिँदै आएका छन्। बैंकहरुले लिने ऋणको व्याज आधार दरले निर्धारण गर्दछ। सामान्यतः जुन बैंकको आधार व्याजदर कम हुन्छ, त्यो बैंकको ऋण पनि सस्तो पर्न जान्छ। बैंकहरुले ऋणको प्रकृति हेरिकन आधार दरमा निश्चित प्रिमियम दर जोडेर ऋणीलाई व्याजदर तय गरिदिन्छन्।
२८ वटा वाणिज्य बैंकहरुको चैत मसान्तसम्म औसत आधार व्याजदर ९. ६९ प्रतिशतमा झरेको छ। आधार व्याजदर गत वर्षको सोही अवधिको तुलनामा घटेको हो। राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ५. ३८ प्रतिशत मात्रै छ भने सेन्चुरीको सबैभन्दा धेरै ११. ३२ प्रतिशत छ।
यद्यपी सबैजसो बैंकहरुको आधार व्याजदर गत वर्षको तुलनामा घटेको छ। बैंकहरुले निक्षेपमा दिने अधिकतम व्याजदर गत वर्षभन्दा घटाएर भद्र सहमति गरेपछि आधार दर घटेको हो।
ऋणको व्याज आधार दरले मात्रै निर्धारण गर्ने भने होइन। आधार दरमा जोडिने प्रिमियम दर बैंकहरुको फरक फरक छ। तसर्थ प्रिमियम दरमा पनि ऋणीले विचार पुर्याउनु जरुरी हुन्छ। बैंकहरुले अन्य सूचक र लक्ष्यलाई अप्ठेरो नपर्नेगरी अधिकतम ५ प्रतिशतसम्म प्रिमियम दर निर्धारण गरेको पाइन्छ।
सो दरका आधारमा इएमआई (इक्वेटेड मन्थ्ली इन्स्टलमेन्ट) हिसाव गरी ऋणीले भुक्तानी गर्दै जानुपर्छ। ऋण लिइने रकम र अवधि स्थिर मान्दा व्याजदर बढी भएमा तिर्नुपर्ने किस्ता रकम पनि बढी पर्न जान्छ भने व्याजदर कम भएमा कम पर्न जान्छ।
बेलाबेलामा विभिन्न बैंकहरुले घरजग्गा, सवारीसाधन खरिद वा अन्य कुनै व्यवसाय गर्नका लागि सस्तो व्याजको अफर समेत ल्याएका हुन्छन्। ती अफरबाहेक सामान्य अवस्थामा ऋण लिन चाहनेलाई आधार व्याजदर महत्वपूर्ण हुन्छ।
अर्कोतर्फ सरकारले विभिन्न सात शिर्षकमा सहुलियतपूर्ण व्याजमा ऋण प्रदान गर्दै आएको छ। सरकारले दिने सहुलियतपूर्ण ऋणका लागि पनि आधार दर महत्वपूर्ण हुन्छ।
हेर्नुहोस् कुन बैंकको आधार व्याजदर कति ?
बैंक | अहिलेको दर (२०७५ चैत) | पहिलेको दर (२०७४ चैत) |
नविल | ७. ९९ | ७. ३३ |
इन्भेष्टमेन्ट | ८. ५४ | ९. १२ |
राष्ट्रिय वाणिज्य | ५. ३८ | ६. २० |
कृषि विकास | ११. १६ | १२. ७२ |
नेपाल | ६. ९२ | ७. ११ |
एनआइसी | ९. ३० | ११. ५० |
एभरेष्ट | ८. ०१ | ८. १८ |
स्टान्डर्ड चार्टड | ७. ७४ | ७. २० |
ग्लोबल आइएमई | ९. ६० | ११. ६८ |
एसबिआई | ९. ७३ | ९. ८९ |
हिमालयन | ९. १० | ९. ४२ |
सिद्धार्थ | १०. ३७ | ११. ३० |
एनएमबि | ९. ९५ | १०. ९२ |
प्राइम कमर्सियल | १०. २० | ११. १० |
सानिमा | ९. ३१ | ९. ८८ |
सिटिजन्स | १०. ५८ | ११. १५ |
नेपाल बंगलादेश | १०. ६९ | ११. ६० |
सनराइज | १०. ४३ | ११. ३४ |
लक्ष्मी | १०. २६ | ११. ३५ |
माछापुच्छ्रे | १०. ५२ | ११. १० |
बैंक अफ काठमाण्डु | १०. ०७ | १०. ७८ |
प्रभु | ९. १६ | १०. १७ |
मेगा | १०. २० | ११. ०० |
जनता | १०. ५२ | ११. ६६ |
कुमारी | ११. ०२ | ११. ६२ |
सेन्चुरी | ११. ३२ | १२. ०६ |
सिभिल | ११. २० | १२. ३६ |
एनसिसी | १०. ८६ | १२. ०३ |