सानिमा र सिद्धार्थ बैंकको नाफामा प्रतिस्पर्धा देखिएको छ।
सेयर मूल्य समेत उस्तै रहेका दुवै बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण पनि एकै दिन सार्वजनिक गरेका छन्। बुधबार बजार बन्द हुँदा सानिमाको मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ तथा सिद्धार्थको ३५३ रुपैयाँ छ।
सिद्धार्थ बैंकले यस आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ५९ करोड नाफा देखाएको छ। सोही अवधिमा सानिमा बैंकको नाफा १ अर्ब ५७ करोड रुपैयाँ छ।
वितरणयोग्य नाफाका आधारमा भने सानिमा बैंक अगाडि छ। सानिमासँग १ अर्ब ११ करोड वितरणयोग्य नाफा छ भने सिद्धार्थको ८९ करोड ५३ लाख छ।
व्यवसायको विस्तारलाई हेर्ने हो भने सिद्धार्थ बैंक सानिमाभन्दा माथि छ। सिद्धार्थले चैत मसान्तसम्म कुल १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेको छ भने सानिमाको ८५ अर्ब २६ करोड छ।
त्यस्तै सिद्धार्थले सोही अवधिसम्म १ खर्ब १ अर्ब कर्जा प्रवाह गरेको छ भने सानिमाले ७९ अर्ब १३ करोड परिचालन गरेको छ।
गत वर्षको यसै अवधिको तुलनामा दुवै बैंकको निक्षेप संकलनभन्दा कर्जा प्रवाहको वृद्धिदर झण्डै दोब्बर देखिएको छ। सानिमाले एक वर्षको अवधिमा निक्षेप साढे ९ प्रतिशतले बढाउँदा कर्जा १७ प्रतिशतले बढाएको छ। त्यस्तै सिद्धार्थले निक्षेप ११ प्रतिशतले बढाउँदा कर्जा २१ प्रतिशतले बढाएको छ।
सिद्धार्थ बैंकको चुक्ता पुँजी सानिमाको भन्दा ८८ करोड बढी छ। सानिमाले गत आवको नाफाबाट नगद लाभांश मात्रै वितरण गरेपछि चुक्तापुँजी स्थिर रहेको हो।
नाफा उस्तै, तर चुक्ता पुँजी सिद्धार्थको बढी भएका कारण प्रतिसेयर आम्दानी सानिमाको बढी देखिन्छ। उसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५२ पैसा छ भने सिद्धार्थको २४ रुपैयाँ ७१ पैसा छ।
प्रवाहित कर्जाको गुणस्तर कायम राख्न क वर्गका बैंकमध्येमै सानिमा अब्बल मानिँदै आएको छ। बैंकको निश्क्रिय कर्जा जम्मा ०. १२ प्रतिशत मात्रै छ। सिद्धार्थको १. ३६ प्रतिशत छ। कर्जा प्रवाह १ खर्ब नघाएको सिद्धार्थको निश्क्रय कर्जा गत वर्षको तुलनामा सामान्य बढेको देखिन्छ।
थप कर्जा लगानीका लागि दुवै बैंकहरु सहज अवस्थामा छैनन्। संकलित निक्षेप तथा प्राथमिक पुँजीको योगफलबाट प्रवाह हुने कर्जाको अनुपात दुवैको ७८ प्रतिशत पुगेको छ। यसको उच्चतम सीमा ८० प्रतिशत हो।
आगामी दिनमा सेयर लाभांश वितरणका लागि सानिमाभन्दा सिद्धार्थ बैंक बढी सक्षम देखिन्छ। सिद्धार्थको जगेडा कोषमा ५ अर्ब ५७ करोड रुपैयाँ छ भने सानिमाको ३ अर्ब २२ करोड छ।
सिद्धार्थ बैंकको आधार व्याजदर १०. ३७ प्रतिशत छ भने सानिमाको ९. ३१ प्रतिशत छ। सानिमाको प्रतिसेयर खुद सम्पत्ति मूल्य १४० रुपैयाँ छ भने सिद्धार्थको १६२ रुपैयाँ पुगेको छ।
स्प्रेड दर सिद्धार्थको ४. १५ तथा सानिमाको ४. ६४ प्रतिशत छ। सानिमाले आगामी असार मसान्तसम्म यो दर साढे ४ प्रतिशतमा कायम गर्नुपर्ने बाध्यता छ। सिद्धार्थलाई स्प्रेड दर व्यवस्थापनमा कुनै समस्या छैन।