आइतबार सेयर कारोबारको रकम एक अर्ब नाघेको छ। १ अर्ब २ करोड रुपैयाँ बढीको सेयर कारोबार हुँदा परिसूचक नेप्सेमा पनि उल्लेख्य वृद्धि भएको छ।
नेप्से ३१. ८९ अंकले बढेर १२६४ अंकमा कायम भएको छ। खासगरी वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। बजारमा उल्लेख्य हिस्सा ओगट्ने वाणिज्य बैंक उपसमूहमा ४५ अंकको वृद्धि भएको छ।
उच्च कारोबार हुने कम्पनीहरुको ‘टप टेन’मा सबै वाणिज्य बैंकहरु मात्रै छन्। नेपाल बैंकको १४ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भयो। एनआइसी एसिया, एनसिसी, इन्भेष्टमेन्ट, सिभिल, प्रभु, एनएमबि, जनता, माछापुच्छ्रे र कुमारी बैंक क्रमिक रुपमा ठूलो कारोबार रकमका आधारमा अगाडि रहे।
कारोबार रकमका आधारमा वाणिज्य बैंकको हिस्सा आधाभन्दा बढी रह्यो। सो समूहको ५४ करोडको सेयर किनबेच भयो। बैंकिङका अलवा होटल समूह ३४, विकास बैंक १६, जलविद्युत ८, फाइनान्स २, अन्य ९, माइक्रोफाइनान्स २६ र जीवन बीमा २२ अंकले बढे। उत्पादन र निर्जीवन बीमा समूह भने क्रमशः ११ र ७ अंकले घटे।
स्टान्डर्ड चार्टड तथा एसबिआई बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। स्वदेशी लघुवित्त तथा हिमालयन बैंकको मूल्य ९ प्रतिशत बढीले बढ्यो। बेस्ट फाइनान्स र नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ४ प्रतिशत मूल्य गुमाए।