संचालनको स्वीकृति पाएका लघुवित्तहरुमध्ये ४९ वटाले अझै सर्वसाधारणलाई सेयर (आइपिओ) जारी गरेका छैनन्।
लघुवित्त संस्थाहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने प्रावधान छ।
संचालनमा आएको तीन वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने व्यवस्था छ। तर कतिपय लघुवित्त दर्ता भए पनि संचालनमा नआएकाले प्राथमिक सेयर जारी नगरेको हुन सक्ने राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था प्रवद्र्धन तथा नियमन विभागका प्रमुख जनकबहादुर अधिकारी बताउँछन्।
उनका अनुसार ९१ वटा लघुवित्त कम्पनीहरुलाई संचालनको स्वीकृति दिइएको छ। तिमध्ये केही लघुवित्त कम्पनीहरु कार्यालय संचालनका लागि प्रक्रियामै छन्।
सेयर बजारमा भने जम्मा ४० लघुवित्त कम्पनीहरु सूचीकृत छन्।
हालै आइपिओ निश्कासन गरेका आशा र स्पर्श लघुवित्त सेयर बजारमा सूचीकृत हुन बाँकी छ। तिबाहेक पाँच लघुवित्त धितोपत्र बोर्डमा आइपिओ निश्कासनको पाइपलाइनमा छन्।
इनिफिनिटी, गुराँस, जनसेवी, नेपाल आर्गो र स्वाभिमान माइक्रोफाइनान्स प्राथमिक सेयर निश्कासनको लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन्। पाइपलाइनमा रहेका यी कम्पनीहरुले कुल १७ लाख ४७ हजार ६८८ कित्ता सेयर निश्कासन गर्नेछन्।
गणपति माइक्रोफाइनान्सले प्राथमिक सेयर निश्कासनका लागि स्वीकृति पाइसकेको छ। सो कम्पनीले १० लाख ३५ हजार कित्ता सेयर जारी गर्नेछ।
लघुवित्त कम्पनीहरुको दर्ता तीन वर्षदेखि बन्द रहेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै भएको भन्दै नयाँ संचालनका लागि दर्ता बन्द गरिएको हो। कतिपय लघुवित्तहरु मर्ज प्रक्रियामा जुटेका छन्।
लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको विशेष आकर्षण रहँदै आएको छ। बजारमा सूचीकृतमध्ये धेरै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सयभन्दा माथि छ।