प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सेयर खरिदका लागि आवेदन दिएको त्रिशुली जलविद्युत कम्पनीमा अत्याधिक आकर्षण देखिएको छ।
यसअघि युनिभर्सल पावरसहित कतिपय जलविद्युत आयोजनाले तोकिएको चाँडो अवधिसम्म पनि सेयर बिक्री गर्न सकेका थिएनन्। अर्कोतर्फ दोस्रो बजारमा २४ वटा जलविद्युत कम्पनी सूचीकृत भएकोमा १० वटा कम्पनीको सेयर मूल्य १ सय रुपैयाँभन्दा तल छ।
जसका कारण जलविद्युत कम्पनीहरुप्रति सर्वसाधारण लगानीकर्ताको रुची बढ्न सकेको थिएन। त्रिशुलीमा ओलीले १० हजार कित्ताका लागि आवेदन दिएपछि सर्वसाधारणको ध्यान तानेको हो। अर्कोतर्फ यो आयोजनामा लगानी गर्नेले बजारमा सेयर सूचीकृत नहुन्जेल वार्षिक ८ प्रतिशतका दरले व्याज समेत पाउने भएकाले आकर्षण बढेको हो।
आवेदन बिहीबारबाट खुलेकोमा शुक्रबार १२ बजेसम्म १ करोड ३७ लाख १३ हजार ५७० कित्ताका लागि आवेदन परेको छ। यो माग गरिएभन्दा ३. ८ गुणा बढी हो। कम्पनीले कुल ३७ लाख ५ हजार कित्ता सेयरका लागि आवेदन माग गरेको हो। जसमध्ये कर्मचारीका लागि १ लाख ११ हजार १५० कित्ता सेयर छुट्याएपछि बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि हो।
कुल २७ हजार ८ सय ८१ आवेदन परेको कम्पनीले जनाएको छ। सो आवेदनबाट १३ करोड ७१ लाख ३५ हजार ७ सय रुपैयाँ संकलन भएको छ। आवेदनसँगै प्रतिकित्ता १० रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ। बाँकी प्रतिकित्ता ९० रुपैयाँका दरले पछि भुक्तानी दिनुपर्नेछ। निर्माण कार्य ७५ प्रतिशत सकिएपछि मात्रै बाँकी रकम माग गरिने कम्पनीले जनाएको छ।
प्रतिकित्ता १ सयका दरले कम्तीमा १ सय कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। अधिकृत पुँजी २ अर्ब ५० करोड रहेको कम्पनीको जारी पुँजी २ अर्ब ४७ करोड छ।
संस्थापकहरुबाट सम्पूर्ण रकम चुक्ता भइसकेको कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ५१ करोड रहेको छ। कम्पनीको संस्थापक सेयरधनीमा नेपाल विद्युत प्राधिकरण र टेलिकम रहेको छ।
कम्पनीले नुवाकोट तथा रसुवा जिल्लाको सीमामा बग्ने नदीबाट माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजना बनाउनेछ। सो आयोजनाको क्षमता ३७ मेगावाटको छ। व्याजबाहेक ७ अर्ब ४४ करोड लागत लाग्ने अनुमान छ।
निर्माण अवधिभरको व्याजसहित आयोजनाको लागत प्रतिमेगावाट २२ करोड २३ लाख लाग्ने अनुमान छ। यद्यपी सो लागतमा विदेशी बिनिमयदरले असर पार्न सक्ने चुनौति रहेको आह्वान पत्रमा औंल्याइएको छ।
कम्पनीले नविल बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल बैंकसँग ऋण सम्झौता गरेको छ। आयोजनाको २८ प्रतिशत प्रगति भइसकेको कम्पनीले जनाएको छ।
बन क्षेत्र प्राप्ती र रुख कटानको काम सम्पन्न भएको छ। त्यस्तै आवास तथा कार्यालय भवन निर्माण, प्रवेश मार्ग निर्माण, आयोजना सडक, निर्माण उपकरण तथा सामाग्रीको परिचालन, मुख्य सुरुङ तथा पावर हाउसको निर्माण समेत सुरु भएको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ बाट कम्पनी नाफामा जाने प्रक्षेपण गरिएको छ। आव २०७९र८० मा कम्पनीले ४ अर्ब खुद नाफा कमाउने प्रक्षेपण गरिएको छ। सो आवमा प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८३ पैसा, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ तथा इक्वीटीमा प्रतिफल २७ प्रतिशत रहने अनुमान छ।
यद्यपी आयोजनाको क्रेडिट रेटिङ भने गरिएको छैन। जनताको जलविद्युत कार्यक्रमअन्तर्गतका आयोजनालाई क्रेडिट रेटिङ गराउन नपर्ने व्यवस्थापछि रेटिङ नगरिएको कम्पनीले जनाएको छ।