धितोपत्र बोर्डले लिलामी सेयरका लागि आवेदन दिने केन्द्रहरु थप गरेको छ। उपत्यकाबाहिर सीमित ठाउँहरुबाट मात्रै लिलामी सेयरका लागि आवेदन लिइँदै आएकोमा ठाउँहरु थ्प गरिएको बोर्डले जनाएको छ।
हकप्रद निष्काशन हुँदा नबिकेको सेयर कम्पनीहरुले लिलामीमार्फत बिक्री गर्दै आएका छन्। तर लिलामी सेयरका लागि आवेदन दिने ठाउँहरु सीमित हुँदा धेरैले अवसर नपाएको गुनासो समेत गर्ने गरेका छन्।
प्रादेशिक संरचना तथा आर्थिक सक्रियताका आधारमा ठाउँहरु थप गर्न मर्चेन्ट बैंककरहरुलाई परिपत्र गरिएको बोर्डले जनाएको छ। जसअनुसार प्रदेश नं १ को विराटनगर र विर्तामोडबाट लिलामी सेयरका लागि आवेदन लिन निर्देशन दिइएको छ।
त्यस्तै प्रदेश २ को बीरगन्ज र जनकपुर, ३ को हेटौंडा र नारायणगढ तथा ४ को पोखरा र बागलुुङबाट पनि लिलामी सेयरका लागि आवेदन दिन सकिनेछ। ५ को बुटवल, घोराही र नेपालगञ्ज, ६ को सुर्खेत तथा ७ को धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ।
लिलामी सेयरको आवेदनमा गोप्य रुपमा मूल्य कबोल हुने र ति सबै आवेदन राजधानीमै ल्याएर मूल्य बढाबढका आधारमा मात्रै सेयर दिनुपर्ने हुन्छ। जसका कारण सीमित क्षेत्रहरु मात्रै तोकिँदै आएको छ। उल्लेखित व्यवस्थाबाट धितोपत्रको हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने बोर्डको दावी छ।