समस्याग्रस्त सहकारीमा सोसाइटल बचत तथा ऋण सहकारी संस्था पनि थपिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो संस्थालाई सस्याग्रस्त घोषणा गरेको हो।
समस्याग्रस्त भएसँगै सो सहकारीको सम्पत्ति मूल्यांकन, व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मा समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिले लिएको छ। समितिका सदस्य सचिव रेवतिरमण पौडेलले सो सहकारीले मोटामोटी १५ करोड बचत संकलन गरेको जानकारी दिए।
बानेश्वरमा कार्यालय भेटिएको र समितिले शिल गरेको उनले बताए। उनका अनुसार सहकारीको हाल कागजात अध्ययन भइरहेको छ। ‘डकुमेन्ट हेरेर हामीले पहिलो चरणमा संचालक तथा लेखा समितिका सदस्यहरुसँग सोधपुछ गर्यौँ’ उनले भने ‘सहकारीको सफ्टवेयर संचालनमा ल्याई थप विवरण लिने काम भइरहेको छ।’
सो विवरण अध्ययनपछि मात्रै वास्तविक सम्पत्ति तथा दायित्व पत्ता लाग्ने उनले बताए। विसं २०५६ सालमा डिभिजन सहकारी कार्यालय काठमाडौँमा दर्ता भई उक्त सहकारीले वित्तीय कारोबार गर्दै आएको थियो।
सरकारले समस्याग्रस्त घोषणा गरेका एघार सहकारीमा करिब ८ अर्ब ४० करोड रकम बचत छ। सुधिर बस्नेतको ओरेन्टल को अपरेटिभमा मात्रै ६ अर्ब ८६ करोड रुपैयाँ बचत छ। सो सहकारीको पनि समितिले सम्पत्ति तथा दायित्वको अध्ययन गर्ने र नउठेको ऋण उठाएर बचतकर्तालाई फिर्ता गर्नेगरी काम गरिरहेको छ।
नउठेको ऋण उठाउनका लागि निकै चुनौति रहेको सदस्य सचिव पौडेलले बताए। उनका अनुसार ओरेन्टलबाहेक अन्य सहकारीको पूर्ण रुपमा कागजात फेला परेको छैन। ‘कतिपय सम्पत्ति बैंक तथा वित्तीय संस्थाहरुबाट रोक्का भएको छ’ उनले भने ‘बैंकहरुसँग मिलेर ति सम्पत्तिको लिलाम गर्न पहल गरेका छौँ।’
सम्पत्तिहरु लिलाम गरी बचतकर्तालाई सकेसम्म चाडो रकम फिर्ता गर्नेगरी काम भइरहेको समितिले जनाएको छ। समस्याग्रस्तमध्ये कोहिनुर हिल र भेगासको कार्यालय कुन ठाउँमा थियो भन्ने कुरा समेत पत्ता लाग्न सकेको छैन।
५ वटा सहकारी बन्द अवस्थामा कार्यालय भएको स्थान मात्रै भेटिएको छ भने कुनै कागजात नभेटिएको समितिले जनाएको छ।
समस्याग्रस्त सहकारी र बचत रकम
सहकारी संस्था | बचत रकम |
स्टान्डर्ड सेभिङ एण्ड क्रेडिट को अपरेटिभ | ५३ करोड ३६ लाख |
प्यासिफिक सेभिङ एण्ड क्रेडिट को अपरेटिभ | ३० करोड ८६ लाख |
प्रभु बचत तथा ऋण सहकारी | २१ करोड ८३ लाख |
कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट | ६ करोड ८६ लाख |
कन्जुमर बचत तथा ऋण सहकारी | १० करोड १३ लाख |
कुवेर बचत तथा ऋण सहकारी | ४ करोड ३८ लाख |
चार्टड सेभिङ एण्ड क्रेडिट | ३ करोड १४ लाख |
भेगास बचत तथा ऋण | २ करोड १२ लाख |
स्टान्डर्ड मल्टिपर्पोज को अपरेटिभ | ६ करोड ७४ लाख |
ओरेन्टल को अपरेटिभ | ६ अर्ब ८६ करोड ४२ लाख |
सोसाइटल बचत तथा ऋण सहकारी संस्था | १५ करोड (अनुमानित) |
सहकारी विभागका अनुसार देशभर ३४ हजार ५१२ सहकारी संस्था संचालनमा छन्। ति संस्थाहरुमा ३ खर्ब २ अर्ब बचत संकलन भएको छ भने २ खर्ब ७३ अर्ब ऋण प्रवाह गरेका छन्। यी संस्थाहरुको स्थानीय निकाय, प्रदेश सरकार र सहकारी विभागले नियमन गर्नेगरी कानूनी व्यवस्था गरिएको छ।
एउटै स्थानीय तहमा कार्य गरिरहेकाको स्थानीय निकाय, दुई वा सोभन्दा बढी स्थानीय तहको कार्यक्षेत्र भएका सहकारीलाई प्रदेश सरकार, दुईभन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएकाको विभागले निगमन गर्नेगरी व्यवस्था गरिएको छ। त्यस्तै ५० करोडभन्दा बढी बचत गरेका सहकारीहरुको विभागले समेत नियमन गर्ने भएको छ।
विभागका प्रवक्ता नारायणप्रसाद अर्यालका अनुसार ११६ सहकारीले विभागअन्तर्गत नियमन हुनेगरी विवरण बुझाएका छन्।