बीमा कम्पनीहरुका लागि विभिन्न क्षेत्रमा लगानीको नयाँ सीमा तोकिएको छ।
बीमा समितिले बनाएको ‘बिमकको लगानी निर्देशिका २०७५’ ले विभिन्न क्षेत्रमा हुने लगानीमा अनुपात तोकेको हो। ‘ऐनले तोकेको सल्भेन्सी अनुपातका आधारमा लगानीका लागि निर्देशिकामा सीमाहरु कायम गरिएको हो’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने।
जसअनुसार बीमा कम्पनीहरुले क वर्गको बैंक तथा पूर्वाधार बैंकमा निक्षेपका रुपमा सबैभन्दा धेरै लगानी गर्न सक्ने भएका छन्। सो निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था गरिएको छ। विकास बैंकमा २० प्रतिशतसम्म र फाइनान्समा १० प्रतिशतसम्म निक्षेपका रुपमा लगानी गर्न सक्ने सीमा तोकिएको छ।
घरजग्गामा बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने छन्। घरजग्गामा गएको लगानीको प्रत्येक तीन वर्षमा नयाँ मूल्यांकन गर्नुपर्नेछ।
बीमा कम्पनीहरुले पव्लिक कम्पनीहरुको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने छन्। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर वा ऋणपत्रमा २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन्। त्योबाहेक सेयर बजारमा सूचीकृत ऋणपत्रमा २० प्रतिशतसम्म लगानीको सीमा तोकिएको छ।
कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा ऋण वा पुँजीका रुपमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष वा म्युचुअल फण्डहरुमा ५ प्रतिशतसम्म लगानी गर्न पाइनेछ।
तिबाहेक अन्य क्षेत्रमा लगानी गर्दा बीमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। यदी तोकिएको सीमाभन्दा बढी हुन आएमा तीस दिनभित्र सीमामा ल्याइसक्नुपर्ने व्यवस्था गरिएको छ।
के हो कुल टेक्निकल रिजर्भ ?
माथि उल्लेखित सबै लगानी कुल टेक्निकल रिजर्भबाट छुट्याइएको हिस्सा हो। कुल टेक्निकल रिजर्भकै आधारमा बीमा कम्पनीहरुले प्रत्येक दिन जग्गाबाहेक अन्यमा गएको लगानीमा तोकिएको सीमा कायम गर्नुपर्नेछ।
जीवन बीमा व्यवसायका हकमा,
रिजर्भ, बोनसको लागत, आकस्मिक व्यवस्था, तत्काल भुक्तानी गर्नुपर्ने दावीको व्यवस्था, बीमा लेखसँग सम्वन्धित अन्य दायित्व र व्यवस्था, खुद दावी भुक्तानी वापतको व्यवस्था र अवधि समाप्त वापत भुक्तानी गर्नु नपर्ने बीमाको असमाप्त जोखिम वापतको व्यवस्थाका लागि तय भएको कुल रकमको योगफल नै टेक्निकल रिजर्भ हो।
निर्जीवन बीमा व्यवसायका हकमा,
बीमा समितिले तोकेको वा दैनिक समानुपातिक विधिबाट गणना गरिएको असमाप्त जोखिमवापतको व्यवस्थामध्ये जुन बढी हुन आउँछ सोही बराबरको असमाप्त जोखिम वापतको व्यवस्था, खुद दावी वापतको व्यवस्था, महाविपत्तिवापतको व्यवस्था र अन्य आकस्मिक व्यवस्थाको योगफल नै टेक्निकल रिजर्भ हो।