वाणिज्य बैंकहरुबाट माघ महिनामा संकलित निक्षेपभन्दा कर्जा प्रवाह दोब्बरले बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ महिनामा २१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने ४५ अर्ब कर्जा प्रवाह भएको छ। गत वर्षको सोही महिनामा बैंकहरुमा निक्षेप घटेको थियो भने कर्जा प्रवाह २५ अर्बले बढेको थियो।
माघ मसान्तसम्म वाणिज्य बैंकहरुमा सर्वसाधारणको कुल २६ खर्ब ७१ अर्ब निक्षेप संकलन भएको छ। सो अवधिसम्म २३ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पनि बैंकहरुको संकलित निक्षेपभन्दा कर्जा प्रवाह उच्च छ। राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ७. ७ प्रतिशतले निक्षेप बढेको छ भने कर्जा १२. ७ प्रतिशतले बढेको छ।
बैंकहरुको पुँजी बढेसँगै निक्षेपभन्दा बढी कर्जा प्रवाह गर्न सफल भएका हुन्। प्राथमिक पुँजी तथा निक्षेपमा ८० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने व्यवस्था छ।