लगातार बढेको माथिल्लो तामाकोसीको सेयर मूल्य आइतबार अन्तिम समयमा घटेको छ।
अघिल्लो दिन प्रतिकित्ता ३११ रुपैयाँमा कारोबार भएको उक्त कम्पनीको मूल्य आज पौने १ बजेसम्म ३४२ रुपैयाँसम्म कारोबार भयो। पौने १ बजेपछि कम्पनीको सेयर बेच्नेहरु बढ्न थाले, खरिद गर्नेहरु घट्न थाले। साढे २ बजे २८० रुपैयाँसम्म मूल्य झर्यो। त्यसपछि क्रमिक रुपमा बढेको मूल्य बजार बन्द हुँदा २९२ रुपैयाँमा कायम भयो।
एउटै दिनमा कसैले ३४२ रुपैयाँमा सेयर किनबेच गरे त कसैले २८० रुपैयाँमै कारोबार गरे। मूल्य घट्दा बेच्न आत्तिने र बढ्दाखेरि किन्न आत्तिने लगानीकर्ताको गलत प्रवृत्तिका कारण यस्तो उतारचढाव आएको लगानीकर्ता बताउँछन्।
कुल ३६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा तामाकोसीको मात्रै २३ करोडको बढी किनबेच भयो।
‘व्यवसाय नथालेको नयाँ कम्पनी भएकाले कम्पनीप्रति जानकारी अभाव भयो, यसले गर्दा एकै दिन उतारचढाव बढी देखिएको हो’ लगानीकर्ता पिताम्बर खरेलले भने ‘अर्कोतर्फ लगानीकर्ताको उल्टो प्रवृत्ति हावी भयो।’
सेयर मूल्य बढ्दै जाँदा बेच्नेहरु बढ्नुपर्ने घट्दा किन्नेहरु बढ्नुपर्नेमा घट्दा बेच्नेहरु बढेका कारण बढी उतारचढाव देखिएको उनको भनाई छ।
माथिल्लो तामाकोसीको व्यवसायिक उत्पादन कहिले हुने भन्नेमा अनिश्चित छ, यसले गर्दा पनि संभावित प्रतिफल, लागत, सबै कुराको निश्चितता नभएकाले लगानीकर्तामा द्विधा थपिएको खरेलले बताए।
‘यहाँका आयोजनाको निर्माण सम्पन्न हुने अवधि, लागत, प्रतिफलको संभावित अवधि कुनै पनि कुराको निश्चितता छैन, तामाकोसी पनि त्यही एउटा आयोजना हो’ उनले भने।
अघिल्लो दिनसम्म बेच्नेहरुले ६,७ सय पुग्छ भन्दै हल्ला गरेर तिनैले आज महँगोमा बेचेर गलत प्रचारप्रसार गर्न थालेको पनि उनले आरोप लगाए।
‘अर्कोतर्फ तामाकोसीको हल्ला बढी भयो, मूल्य बढ्दा यति पुग्छ भन्दै बेच्नेहरु सक्रिय भए, ठूलो आयोजना भएकाले कतिपयले पत्याए’ उनले भने ‘तिनीहरुले अर्को पाटो निर्माण अवधि, लागत, संभावित प्रतिफलका लागि लाग्ने अवधि जस्ता कुरा हेरेनन्।’