पछिल्ला साता बैंकहरु ऋण विस्तारका लागि संयम देखिएका छन्। कात्तिकसम्म आक्रामक रुपमा ऋण विस्तार गरेका बैंकहरुको मंसिर लागेपछि कमी आएको हो।
कात्तिक मसान्तदेखि मंसिर तेस्रो सातासम्म बैंकहरुले संकलित निक्षेपभन्दा आधा रकम मात्रै कर्जा प्रवाह गरेका छन्। कात्तिक मसान्तदेखि मंसिर तेस्रो सातासम्म कुल ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यस अवधिमा २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। कात्तिक महिनामा ४२ अर्ब निक्षेप थपिँदा बैंकहरुले ३७ अर्ब कर्जा प्रवाह गरेका थिए।
कात्तिक मसान्तसम्म बैंकहरुमा कुल २५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर २१ गतेसम्म यो बढेर २६ खर्ब ७ अर्ब पुगेको छ। मंसिरको तेस्रो साता मात्रै बैंकहरुमा ४२ अर्ब निक्षेप थपिएको छ। यस अवधिमा उनीहरुले ७ अर्ब कर्जा प्रवाह गरेका छन्।
सो अवधिमा स्थानीय तहको खातामा रहेको रकम निक्षेपका रुपमा जम्मा भएसँगै उच्च वृद्धि देखिएको हो। स्थानीय तहको खातामा रहेको ३९ अर्ब रुपैयाँ मंसिर १६ गते बैंकहरुमा थपिएको थियो।
कात्तिक मसान्तसम्म २२ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिर २१ गतेसम्म बढेर २३ खर्ब ३ अर्ब पुगेको छ।
धेरैजसो बैंकहरुको सिसिडी रेसियो उच्च रहेकाले पनि कर्जा प्रवाह गर्न सक्ने क्षमतामा छैनन्। यसले पनि कर्जाको वृद्धिदर कम देखिएको हो।
स्थानीय तहको खाताबाट बैंकको निक्षेपमा सारिएको रकममध्ये झण्डै २० अर्ब रुपैयाँ सरकारी स्वामित्वका बैंकहरु कृषि विकास, नेपाल र राष्ट्रिय वाणिज्यमा मात्रै गएको छ।
ति बैंकहरु सिसिडीका आधारमा पहिलेदेखि नै सहज अवस्थामा छन्। सरकारी बैंकबाट प्रवाह हुने कर्जा न्यून रहने र अन्यलाई सिसिडीको बाध्यताले प्रवाह गर्न सक्ने क्षमता छैन।
यहीबीचमा सरकारी रकम थपिएकाले समग्र बैंकिङ क्षेत्रमा मंसिरमा कर्जाभन्दा निक्षेपको वृद्धिदर दोब्बर देखिएको हो।