पुँजी बजारलाई व्यवस्थित गर्नका लागि मार्केट डिलर ल्याइने भएको छ । मुद्रा तथा पुँजी बजारका समस्या र समाधानका लागि गठित समितिले यस सम्वन्धमा आवश्यक तयारी गरेको छ ।
भोलिसम्मको म्याद रहेको समितिले नागरिक लगानी कोषलाई मार्केट डिलरको जिम्मा दिनेगरी सुझाव प्रतिवेदन तयार पार्ने भएको हो ।
समितिका सदस्य तथा इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले मार्केट डिलर ल्याउने सम्वन्धमा सकारात्मक कुरा भएको र प्रतिवेदनमा यो कुरा समेटिने जानकारी दिए।
‘मार्केट डिलरबाहेकका अन्य समस्याहरु सम्वोधन गर्नेगरी सकारात्मक रुपमा छलफल भएको छ’ पौडेलले भने ‘अर्थमन्त्रीलाई बुझाउने प्रतिवेदनमा सबै समस्याहरु समेटिन्छ।’
नेपाल धितोपत्र बोर्डले तीन वर्षअघि नै कोषलाई मार्केट डिलरको रुपमा विकास गर्नेगरी कार्यविधि बनाएको थियो। तर नेप्सेको कारोबार सिस्टमले यसलाई सपोर्ट नगरे पछि रोकिएको हो।
‘अहिलेको सिस्टमले मार्केट डिलरलाई पूर्ण रुपमा सपोर्ट गर्छ’ अर्थसमितिको यसअघिको बैठकमा नेप्से प्रमुख चन्द्रसिंह साउदले भने।
नागरिक लगानी कोषले सहायक कम्पनीमार्फत मार्केट डिलरको काम गर्न सकिने बताउँदै आएको छ। मार्केट डिलर विकास भइसकेपछि बजार घट्दा उसले सेयर खरिद गर्ने र बढ्दा बजारमा आपूर्ति गर्ने गर्छ। यसले बजारको माग र आपूर्तिमा केही हदसम्म सन्तुलनमा आउन सक्ने लगानीकर्ताको विश्वास छ।
डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले शुक्रबारसम्म मुद्रा तथा पुँजी बजारमा देखिएका समस्या र समाधानका उपायसहितको प्रतिवेदन अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउने छ। अर्थमन्त्रीकै पहलमा गत बिहीबार सो समिति गठन भएको थियो।