१४ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंक संचालक समितिको बैठकले घोषणा गरेको लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिनुपर्ने व्यवस्था छ।
राष्ट्र बैंकको स्वीकृति तथा बैंकको साधारणसभाको बैठकमार्फत लाभांश पारित भएपछि मात्रै लगानीकर्ताले पाउँछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले बोनस र नगद दुवैतर्फ सबैभन्दा धेरै लाभांश दिने घोषणा गरेको छ । नविलले गत आवमा सबैभन्दा धेरै नाफा कमाए पनि लाभांश भने इन्भेष्टमेन्टले धेरै दिने भएको हो।
गत आवमा नविलले ३ अर्ब ६४ करोड खुद नाफा कमाउँदा इन्भेष्टमेन्टले ३ अर्ब १६ करोड कमाएको थियो । यस पटक धेरैजसो बैंकहरुले नगद लाभांशलाई प्राथमिकता दिएका छन् ।
गत वर्षसम्म चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता रहेकोमा सबैले पुर्याइसकेकाले नगद लाभांशलाई जोड दिएका हुन्। लाभांश घोषणा गर्ने १४ बैंकमध्ये १३ बैंकले नगद लाभांशलाई समेटेका छन्। ग्लोबल आइएमईले भने बोनस सेयर मात्रै दिने निर्णय गरेको छ। ७ बैंकले कत्ति पनि बोनस सेयर नदिने भएका छन् ।
चुक्ता पुँजी बढाउनु पर्दा यसअघि हकप्रद र बोनस सेयर प्रशस्त जारी गरेका बैंकहरुले यो पटक नगदलाई प्राथमिकता दिएका हुन्। लगानीकर्ता बोनस सेयरमा आकर्षित हुँदै गर्दा बैंकहरुले भने नगदलाई जोड दिएपछि केही हदसम्म सेयर बजार प्रभावित भएको लगानीकर्ताको टिप्पणी छ।
सेयर लगानीकर्ता संघका सदस्य केशव भण्डारीले जहिले पनि लगानीकर्ता सेयर लाभांश अर्थात बोनसतर्फ आकर्षित हुने गरेको बताए।
‘अहिले सेयर मूल्य घटेको छ, अर्थात यसअघिको लागत महँगो परेको छ, बोनस दिँदा सेयर संख्या बढ्छ, समायोजनपछि लागत घटाउँछ’ भण्डारीले भने ‘त्यसकारण अहिले बोनस सेयरको महत्व ज्यादा छ।’ नगद लाभांशले बजार घटाउन टेवा पुग्नेमा उनी सहमत छन्।
‘नगद लाभांश मात्रै दिँदा, स्वतः कम्पनीको मूल्य घट्न जान्छ, किनकि हाम्रो अपेक्षा बोनसको पनि हुन्छ।’
चुक्ता पुँजीमा कुन बैंकको लाभांश कति ?
बैंक | नगद लाभांश (प्रतिशतमा) | सेयर बोनस (प्रतिशतमा) | जम्मा लाभांश (प्रतिशतमा) |
इन्भेष्टमेन्ट | २२ | १८ | ४० |
नविल | २२ | १२ | ३४ |
एनएमबि | २० | १० | ३० |
एभरेष्ट | २० | | २० |
स्टान्डर्ड चार्टड | १७. ५ | | १७. ५ |
ग्लोबल आइएमई | | १६ | १६ |
सानिमा बैंक | १४ | | १४ |
सिद्धार्थ | ८. १६ | ५ | १३. १६ |
एनआइसी एसिया | ०. ५३ | १० | १०. ५३ |
माछापुच्छ्रे बैंक | १० | | १० |
सनराइज बैंक | ११. ५ | | ११. ५ |
नेपाल बंगलादेश | १०. ५३ | | १०. ५३ |
जनता बैंक | ८. ५ | | ८. ५ |
सिटिजन्स | ३. ६२८ | १. ६३५ | ५. २६ |
कसरी गणना गर्ने प्राप्त हुने लाभांश ?
बैंकहरुले गत आवको नाफाबाट चुक्ता पुँजीको दरमा लाभांश दिने गर्छन् । आफूसँग भएको सेयर संख्यालाई कम्पनीले दिने लाभांशले गुणा गरी १ सयले भाग गरेपछि प्राप्त हुने लाभांश निकाल्न सकिन्छ।
मानौँ तपाईसँग ए कम्पनीको १ सय कित्ता सेयर छ, सो कम्पनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत सेयर बोनस दिने भएमा तपाईले १५ सय नगद पाउनुहुन्छ भने १० कित्ता सेयर थप पाउनुहुन्छ ।
दुवै लाभांशमा ५ प्रतिशत कर तिर्नुपर्छ । नगद लाभांशका हकमा पुँजीगत लाभकर कटौतीपछि बैंक खातामा जम्मा हुन्छ। बोनस सेयरको हकमा प्रायः कम्पनीले नै करको व्यवस्था गरेका हुन्छन्।
यदी नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य १ सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्बद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ। सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिने छ।