सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नाफामा सबै बैंकलाई जितेको छ।
अन्तिममा वित्तीय विवरण सार्वजनिक गरेको बैंकले पहिलो त्रैमासिक अवधिमा १ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यस अवधिमा यस्तो नाफा ७० करोड ९५ लाख थियो।
व्याजवापतको आम्दानी बढेसँगै बैंकको नाफा बढेको हो। व्याजवापत बैंकले यस अवधिमा २ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आर्जन १ अर्ब ७९ करोड थियो।
बैंकको निश्क्रिय कर्जा भने बढेको छ। गत वर्ष यस्तो कर्जा २. ९२ प्रतिशत रहेकोमा अहिले ३. ८३ पुगेको छ। अन्य बैंकहरुमा लगानीयोग्य रकमको अभाव भइरहेका बेला वाणिज्य सहज अवस्थामा देखिएको छ।
उसको सिडी रेसियो ६७.८७ प्रतिशत छ। त्यस्तै आधार व्याजदर पनि यसको सबैभन्दा कम छ। ६. ३३ प्रतिशतमा आधार व्याजदर कायम राख्न बैंक सफल भएको छ।
बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेको छ। बैंकको कस्ट अफ फण्ड सबैभन्दा कम जम्मा २. ७४ प्रतिशत छ। बैंकको आधार प्रतिसेयर आम्दानी भने १२ रुपैयाँ ४४ पैसा छ।
९ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष १२ अर्ब छ।