कर्मचारी संचयकोषले संचयकर्ताहरुलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषले सबै संचयकर्तालाई रोग र अवस्था हेरी स्वास्थ्य उपचारको लागि बीमा गरिदिने स्किम ल्याएको छ।
कोष र राष्ट्रिय बीमा कम्पनीबीच बुधबार बीमासम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कोषका प्रमुख तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख बीरबिक्रम रायमाझीले हस्ताक्षर गरे। मंसिरदेखि तीन वर्षसम्मका लागि यो योजना लागू हुने छ।
हाल ६ लाख बढी संचय कर्ता कोषमा आबद्ध छन्। संचयकर्ताहरुले सामान्य अवस्थामा वर्षमा १ लाखसम्मको स्वास्थ्य उपचार खर्च पाउने छन्। त्यस्तै जटिल प्रकारका रोग लागेको अवस्थामा संचयकर्ताहरुले वर्षमा १० लाखसम्मको उपचारको व्यवस्था यो कार्यक्रमबाट पाउने छन्।
संचयकर्ताहरुको सुविधा बृद्धि गर्दै थप संचयकर्ताहरु आकर्षित गर्नका लागि कोषले यो कार्यक्रम ल्याएको कोषका प्रमुख प्रशासक तुलसी प्रसाद गौतमले जानकारी दिए।
यो कार्यक्रममा बीमा गरिदिने बापत तिर्नुपर्ने प्रिमियम कोष आफैले बेहोर्ने छ। संचयकर्ताले यसमा केही पनि नगरे हुन्छ। नेपालभर बीमा कम्पनीका शाखाबाट दावी भुक्तानी लिनसकिने व्यवस्था गरिएको छ।
सम्झौता अनुसार औषधि उपचारका लागि भुक्तानी पाउनको लागि संचयकर्ताले संचय गर्न लागेको छ महिना भएको हुनुपर्ने छ। यसमा औषधि उपचारमा संचयकर्ताले सर्जन वा डाक्टरको शुल्क वर्षमा ३० हजारसम्म दावी गर्न पाइने छ। त्यस्तै अधिकतम २० हजार जाँच शुल्क, एक्स–रे, वा विशेषज्ञ शुल्क बापतको खर्च दावी गर्न पाइने छ।त्यस्तै कम्र्पचारीले अस्पतालमा भर्ना भइ उपचार गरेपछि प्रतिदिन २ हजार नबढ्नेगरी वर्षमा २५ हजारसम्मको दावी गर्न पाउने छन्।
वर्षमा औषधि खरिद गरे बापतको १५ हजारसम्मको दावी गर्न पाइने यो योजनामा ९ हजार प्रसुती हुँदाको खर्च दावी गर्न पाइने छ।
कडा रोगका लागि उपचार खर्च दावी गर्दा भने सरकारले तोकेका रोग लाग्दा उपचार गर्दा खर्च भएमा दावी गर्न पाइने छ।
यसरी बीमा दावी गर्दा डाक्टरको सिफारिस, अस्तालको पत्र वा सक्कल बील पेस गर्नुपर्ने छ। यसरी पेस गरिसकेपछि संचय कोषले प्रमाणित गरिदिएपछि बीमा कम्पनीमा गएर संचय कर्ताले दावी गर्न पाउने छ।
यसरी दावी गरेको २५ हजारसम्मको भुक्तानी १५ दिनभित्र शाखा कार्यालयमार्फत् भुक्तानी हुने छ। त्यस्तै १ लाखसम्मको भुक्तानी केन्द्रिय कार्यालयबाट ३० दिनभित्र हुने छ भने घातक रोगका लागि गरिएको दावी ४५ दिनभित्र हुने छ।
नेपाल सरकारले स्वीकृत दिएका देशभरका अस्पताल, नर्सिङ होममा उपचार गराउँदा यो कार्यक्रमले समट्ने छ भने निजी क्लीनिकमा गरिएको उपचारलाई यसले मान्यता दिने छैन। त्यस्तै नेपालमा उपचार हुननसक्ने डाक्टरको सिफारिस भएमा विदेशमा उपचार गरिएको खर्चको दावी पनि यसमा गर्न मिल्ने छ।
संचयकर्ताको मृत्य भएपछि दावी गर्न पाइने छैन तर उपचारको क्रममा मृत्यु भएमा उपचार खर्चको दावी हकवालाले गर्न पाइने छ।
यो वर्ष सुरुवात भएको र यसले संचयकर्तालाईमात्र समेटेको छ। तर अर्को वर्षदेखि जोडीलाई बीमा कार्यक्रममा समेट्दै जाने योजना रहेको गौतमले जानकारी दिए। अवकासपछिमात्र होइन कर्मचारीहरुले कार्यरत रहेकै अवस्थामा विभिन्न समस्या भोग्छन् र त्यसको सहजीकरणका लागि विभिन्न समाजिक सुरक्षाका कार्यक्रम ल्याइएको उनको भनाइ छ।
‘हामीले यो वर्ष सुरुवात गरेका छौं कर्मचारीहरुका हरेक समस्या समाधानका लागि यस्तै सामाजिक सुरक्षाका कार्यक्रम संचालन गर्दै जान्छौं’ उले भने,‘यो कार्यक्रमको सफलता हेरेर हामीले विस्तारै कर्मचारीका जोडी, आमा बाबु, सन्तानलाई समेट्नेगरी कार्यक्रम विस्तार गर्छौ।’
कोषमा सरकारी, सार्वजनिक, निजी क्षेत्र र अनौपचारिक क्षेत्रका व्यक्तिहरुले रकम संचय गर्न सक्छन्।