विभिन्न कम्पनीहरुले ३ अर्ब रुपैयाँ बढीको साधारण सेयर (आइपिओ) निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
बोर्डका अनुसार सेयर निश्कासनको पाइपलाइनमा सबैभन्दा धेरै जलविद्युत कम्पनी छन्। त्यस्तै पाँच माइक्रोफाइनान्स, एक मर्चेन्ट बैंक र एक लगानी कम्पनीले साधारण सेयर निश्कासन गर्नेछन्।
सेयर निश्कासन गर्न लागेका ति कम्पनीहरुको विस्तृत रुपमा अध्ययन भइरहेको र कागजात तथा अन्य प्रक्रिया पुरा गरेकालाई स्वीकृति दिइँदै जाने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।
चौतारी लघुवित्तले १८ करोड रुपैयाँको सेयर निश्कासनका लागि बोर्डबाट हालै स्वीकृति पाएको छ। सर्वसाधारणका लागि यो सेयर जारी हुनेछ।
आशा लघुवित्तले ६ करोड रुपैयाँको, जनसेवी लघुवित्तले ४ करोड २० लाख रुपैयाँको साधारण सेयर निश्कासनका लागि आवेदन दिएका छन्। स्पर्श लघुवित्त र स्वाभिमान लघुवित्तले क्रमशः २ करोड ४० लाख र १ करोड ८० लाख रुपैयाँको सेयर निश्कासन गर्दैछन्।
सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ।
सयपत्री हाइड्रोपावरले तीन करोड रुपैयाँको, शुभम् पावरले पाँच करोड ८० लाख रुपैयाँको, रुरु जलविद्युत् परियोजनाले चार करोड सात लाख रुपैयाँको र माउन्टेन हाइड्रोले १८ करोड १६ लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्न स्वीकृति मागेका छन्।
बोर्डका अनुसार पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँको सेयर निश्कासनका लागि आवेदन दिएको छ। ग्रीनलाइफ हाइइड्रोपावरले १८ करोड रुपैयाँको, मैलुङखोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख रुपैयाँको सेयर निश्कासन गर्न आवेदन मागेका छन्।
युनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँको, शिवश्री हाइड्रोपावरले १४ करोड ७६ लाख ४० लाख रुपैयाँ र घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको सेयर निश्कासन गर्ने छन्।
आवेदन दिने अन्यमा गर्ज्याङ उपत्यका हाइड्रोपावर, लघिङ बुद्ध पावर र युनियन हाइडेल कम्पनी छन्। ति कम्पनीले क्रमशः दुई करोड, नौ करोड ७८ लाख र पाँच करोड ५० लाख रुपैयाँको साधारण शेयर बिक्री गर्नेछन्।
अनुमतिको प्रक्रियामा रहेको मर्चेन्ट बैंकमा सिबिआइएल क्यापिटल छ। सो कम्पनीले तीन करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्नेछ।
बोर्डका अनुसार यस आर्थिक वर्षको हालसम्म विभिन्न कम्पनीलाई एक अर्ब ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्न स्वीकृत दिइएको छ।
यसैबीच चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक २८ गतेदेखि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्दैछ। सो कम्पनीको सेयर कर्मचारी संचयकोषमा रकम जम्मा गरेका र ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि मात्रै खुल्न लागेको हो।