धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ। कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ४८ विन्दुले घटेर एक हजार २४१ दशमलव ६ विन्दुमा पुगेको छ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६९ विन्दुले घटेर २६४ दशमलव ३१ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत कमी आएको छ।
कूल १५५ कम्पनीको आठ लाख ४२ हजार १९८ कित्ता शेयर रु १९ करोड ८७ लाख ७५ हजार ८३४ मूल्यमा खरिद विक्री भएको छ ।
कारोबार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर कारोबारमा भने वृद्धि भएको छ, भने आठ उपसमूहको शेयर भने घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
वित्त क्षेत्र ४ दशमलव ३६ र उत्पादन ३१ दशमलव ६२ विन्दुले बढेको छ। यस्तै, बैंकिङ शून्य दशमलव ९५, विकास बैंक ६ दशमलव ९३, जलविद्युत् ३ दशमलव ५७, निर्जीवन बीमा ७७ दशमलव ६४, अन्य ५ दशमलव ३६, माइक्रोफाइनान्स ८ दशमलव २९, जीवन बीमा ३५ दशमलव ८ विन्दुले घटेको छ। यस्तै, होटल उपसमूहको भने आज कुनै पनि शेयर कारोबार भएन ।
युनाइटेड फाइनान्स, अरुण काबेली पावर लिमिटेड र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज गुमाएका छन् ।