‘युजर एसेप्टेन्स’ (यूएटी)पछि अनलाइन सेयर कारोबार प्रणाली परीक्षण ‘मोक’ चरणमा प्रवेश भएको छ। यूएटीमा ब्रोकर कम्पनीमार्फत लगानीकर्ताले युजर नेम र पासवर्ड लिई आफ्नो अर्डर पोष्ट गरेका थिए।
यस ‘मोक’ चरणमा सेयर लगानीकर्ताले अर्डर पोष्ट गरी आफ्नो कारोबार हेर्न, आदेशमा परिवर्तन वा क्यान्सिल गर्न र कार्यान्वयनमा गए नगएको हेर्न सक्नेछन्। यस चरणको परीक्षण कारोबारका लागि छुट्टै लिंक प्रदान हुने नेप्सेले जनाएको छ।
साथै यो चरणबाट हुने कारोबार अहिलेको प्रणालीमार्फत हुने कारोबार तथा सिडिएससीसँग कुनै सम्वन्ध नरहने बताइएको छ।
चरणबद्ध रुपमा अनलाइन प्रणालीको विकास भइरहेको जनाउँदै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बढीमा २ महिनाभित्र यसलाई लाइभ गरिने जानकारी दिए।
‘अब अनलाइन प्रणाली आउँछ भन्नेमा कुनै शंका नै रहेन, परीक्षणमा केही ढिला भए पनि अबको २ महिनाभित्र पूर्ण रुपमा अनलाइन प्रणालीबाटै कारोबार हुन्छ’ साउदले भने।
कारोबार हुने समय ११ देखि ३ बजेको अलवा अन्य समयमा समेत अर्डर गर्न सकिने व्यवस्था अनलाइन प्रणालीमा गर्न मिल्ने बताइएको छ।
कारोबारलाई लाइभमा लैजानुअघि ब्रोकर तथा लगानीकर्ताबाट आउने अर्डर र कार्यान्वयनलाई अध्ययन गर्नका लागि मोक चरण महत्वपूर्ण रहेको नेप्सेले जनाएको छ।
कसरी गर्ने कारोबार ?
सबैभन्दा पहिले लगानीकर्ताले आफ्नो ब्रोकर कम्पनीमार्फत युजर नेम र पासवर्ड लिनुपर्छ।
त्यसपछि अर्डर पोष्ट गर्न सकिनेछ। अर्डर पोष्ट गर्दा धितोपत्रको प्रकार, कारोबार गर्ने संख्या, मूल्य र अर्डर रहीरहने अवधि छनौट गरेर ‘प्लेस अर्डर’ क्लिक गर्नुपर्नेछ।
अर्डर सफल भइसकेपछि स्कृनको माथिल्लो दायाँ भागमा ‘सक्सेस’ भन्ने सन्देश देखिन्छ। सोही धितोपत्र, संख्या र मूल्यको विपरित अर्डरसँग म्याच हुँदा कारोबार सम्पन्न हुन्छ। यसबीचमा लगानीकर्ताले आफ्नो अर्डर क्यान्सिल पनि गर्न सक्नेछन्।
लगानीकर्ता आफैले अर्डर म्याच भए नभएको हेर्न सक्नेछन्। यदी अर्डर म्याच नहुनेजस्तो अवस्थामा आएमा उनीहरुले त्यसलाई पुनः फेरबदल गर्न सक्नेछन्। त्यस्तै ब्रोकर कम्पनीहरुले आफूले दिएका लगिन आइडीको सम्पूर्ण अर्डरहरु हेर्न सक्नेछन्।