बजारमा सबैभन्दा महँगो सेयर रहेको युनिलिभर नेपालको भदौ १२ गते संचालक समिति बैठक बस्यो र प्रतिकित्ता ७ सय रुपैयाँका दरले लाभांश दिने निर्णय गर्यो। तर नेप्सेलाई भने २८ गते मात्रै यो जानकारी दिइयो र त्यसै दिन सूचना सार्वजनिक भयो।
धितोपत्र सूचीकरण बिनियमावली २०७५ को बिनिमय २२ को उपविनियम १ को खण्ड ङ उल्लंघन गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार आइतबार रोक्का गर्यो। निर्णय ढिला पठाउनुको कारणबारे २४ घण्टाभित्र जानकारी गराउन भन्यो।
कम्पनीबाट जवाफ आएपछि मात्रै अगाडिको प्रक्रिया सुरु हुने नेप्सेले जनाएको छ। ‘कम्पनीबाट के जवाफ आउँछ, त्यसपछि मात्रै कारोबार खोल्ने वा थप अध्ययन गर्ने विषय अगाडि बढ्छ’ नेप्सेका एक अधिकारीले भने।
भदौ २० गते कम्पनीको बजार मूल्य प्रतिकित्ता २३ हजार ५० रुपैयाँ रहेकोमा आज आइतबार २४ हजार ६६३ रुपैयाँ पुगेको छ। यद्यपी कम्पनीको बीचका अधिकांश दिनमा कारोबार भएको छैन। लगानीका आधारमा कम्पनीको लाभांश दर ३ प्रतिशत पनि पुग्दैन। यद्यपी सूचना ढिलो हुँदा भने लगानीकर्तामा शंका पैदा भएको छ।
बिनियमावलीअनुसार धितोपत्रको कारोबारमा प्रभावित पार्ने सूचना भएमा निर्णय भएको तत्कालै नेप्सेलाई जानकारी गराउनुपर्ने प्रावधान छ। जसमा लाभांश सम्वन्धी निर्णय पनि पर्दछ। लाभांशका कारण धितोपत्रको बजार मूल्य सबैभन्दा बढी प्रभावित हुने गरेको छ।
यसअघि सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनीको लाभांश पनि ढिला मात्रै जानकारी दिएर भित्री चलखेल भएको लगानीकर्ताको आरोप छ।
यी घटनाहरु नेपाली पुँजी बजारमा पहिलो होइन। विगत लामो समयदेखि नै बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको लगानीकर्ता निकट संघहरु नै स्वीकार गर्छन्।
‘यस्ता घटनाहरु विगतमा पनि भएका हुन्, यो इन्साइडर ट्रेडिङ नै हो’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने ‘यस्तै घटनाहरु नहोस् भन्ने दवाव दिन हामी सक्रिय भएका हौँ।’
गत आर्थिक वर्षको नाफाबाट सूचीकृत धेरै कम्पनीहरुले लाभांश घोषणा गर्न बाँकी नै छ। अहिलेसम्म कुनै पनि वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छैनन्। ‘अब लाभांश घोषणा गर्ने कम्पनीहरु नै यसमा सजग होउन्’ अर्यालले भने।
इन्साइडर ट्रेडिङको परिभाषा जति सहज भए पनि यसको अध्ययन र अनुसन्धान भने विश्वमै जटिल रहँदै आएको छ। ‘इन्साइडर ट्रेडिङ एउटा अपराध हो, तर यसको सही अनुसन्धान एकदमै जटिल छ’ धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने।
यसरी इन्साइडर ट्रेडिङ हुँदा कम्पनी निकटका मालिकले मूल्य प्रभावित पारी आफूले लाभ लिने र सर्वसाधारणलाई भने जोखिम बढ्ने खतरा रहन्छ।
इन्साइडर ट्रेडिङ गरेको पाइएमा त्यसलाई कारबाही हुने धितोपत्र बोर्डले बताउँदै आएको छ। यद्यपी अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन।