धितोपत्र बोर्डले नेपालमा विश्व लगानीकर्ता सप्ताह असोज १५ देखि विविध कार्यक्रम गरी मनाउने भएको छ।
धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइओएससिओको बोर्ड एशोसिएट सदस्य भएपश्चात बोर्डले लगानीकर्ता सप्ताह मनाउने भएको हो।
उक्त संस्थाले अक्टोबर १ देखि ७ अर्थात असोज १५ देखि २१ सम्म विश्व लगानीकर्ता सप्ताह आह्वान गरेकाले मनाउन लागिएको बोर्डले जनाएको छ।
यसबाट पुँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गरी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि हुने बोर्डको भनाइ छ।
बोर्डका अनुसार यस सप्ताहअन्तर्गत पहिलो दिन असोज १५ गते बिहान ९ बजे धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी आयोजना हुनेछ।
असोज १७ गते पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरुमा भएका पहलहरु, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण, बोर्डको पुर्नसंरचित लगानीकर्तामैत्री वेबसाइट संचालन तथा लगानीकर्तासँग ३/३ महिनामा अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम छ।
असोज १८ गते नियमन निकाय, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्गका उच्च पदस्त कर्मचारी र धितोपत्र व्यवसायी, प्रबुद्ध लगानीकर्ता तथा पुँजी बजार विज्ञलाई संलग्न गराई टेलिभिजन कार्यक्रम प्रसारण हुनेछ।
असोज १९ र २० गते प्रदेश १ को विराटनगरमा प्रथम प्रादेशिक पुँजी बजार प्रदर्शनी गर्ने र धितोपत्र बजारका विविध पक्षहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने, बोर्डका प्रकाशनहरुको निःशुल्क वितरण गर्ने र एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ।
असोज २० गते लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धिका लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम सञ्चालनको सुरुआत हुने बताइएको छ।
विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महत्व र यससम्बन्धी साधन तथा सेवा र बजार विकासको अवस्थाका सम्बन्धमा सर्वसाधारणलाई व्यापक सूचना प्रवाह हुने बोर्डको भनाइ छ।